गेटा मेडिकल कलेजको ठेक्कामा राखिएका प्रावधान संशोधन गर्न माग 
 
education

कैलालीको गेटा मेडिकल कलेजले आह्वान गरेको ठेक्कामा राखिएको प्रावधान संशोधन गर्न कैलालीका निर्माण व्यवसायीहरुले माग गरेका छन्। ठेक्का लगाउन पूर्व बसेको बैठकमा व्यवसायीहरुले ६२ करोड लागतका २ वटा आरसीसी भवन निर्माण गरेको सर्टिफिकेट पेश गर्नुपर्ने प्रावधान संशोधन गर्न माग गरेका हुन् । निर्माण व्यवसायी संघ कैलालीका तर्फबाट लिखित पत्र बुझाएका छन् । 

व्यवसायीहरुले ठेक्का आह्वान गर्दा राखिएको प्रावधान हटाउन माग गरेको गेटा मेडिकल कलेजका इन्जिनियर पवन रावलले बताए । उनीहरुले मेडिकल कलेजले टेण्डर हाल्न ईच्छुक निर्माण व्यवसायीले बितेको १० वर्षमा भ्याट बाहेक ६२ करोड लागतका २ वटा आरसीसी भवन निर्माण गरेको सर्टिफिकेट पेस गर्नुपर्ने प्रावधान संशोधन गरेर एउटा मात्र कायम गर्न माग गरेको रावलले जानकारी दिए । 
निर्माण व्यवसायीहरुले राखेको मागका विषयमा बैठकमा छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएको ईन्जिनियर रावलले जनाए । गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका निमित्त निर्देशक चेतराज जोशीले अहिले कार्यकारी निर्देशक भीमबहादुर साउद धनगढी बाहिर भएका कारण तत्काल कुनै निर्णय हुन नसकेको बताए ।    

सार्वजनिक खरिद नियमावलीमा रहेको प्रावधान अनुसार नै भवन निर्माण सम्बन्धी ठेक्का हाल्न इच्छुक निर्माण व्यवसायीबाट २ वटा सर्टिफिकेट माग गरिए पनि आवश्यकता अनुसार संशोधन गर्न सकिने विकल्प पनि खुला रहेकाले छलफल गरिने उनले बताए ।

गेटा मेडिकल कलेजले करिब १ अर्बको लागतमा निर्माण हुने भनिएका ७ वटा भवनका लागि जारी गरेको टेण्डरमा सम्बन्धीत निर्माण व्यवसायीले यसअघि ६२ करोड बराबरका २ वटा आरसीसी भवन निर्माण गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।

मेडिकल कलेज आफैले यसअघि आह्वान गरेका टेण्डरमा एउटा मात्र सर्टिफिकेट माग गरेकोमा पछिल्लो पटकको टेण्डरमा २ वटा सर्टिफिकेट माग गर्नुले  मिलेमतोको आशंका उब्जिएको कैलालीका केही निर्माण व्यवसायीहरुले बताएका छन । तर मेडिकल कलेजले भने सार्वजनिक खरिद नियमावलीमा राखिएको प्रावधान अनुसार नै छिटोछरितो काम सम्पन्न गर्ने उद्देश्यले दुई वटा सर्टिफिकेट माग गरिएको बताउँदै आएको छ ।