‘बहुमतको आधारमा लोकतन्त्र नचल्ने हो भने निर्वाचन के–को लागि ?’ 
 
br

नेकपा (प्रचण्ड–नेपाल समूह) सुदूरपश्चिमका ईञ्चार्ज भीम रावलले राजनीतिक नैतिकताको हेक्का नराखी प्रधानमन्त्री केपी शर्मा ओलीले मनमौजी गर्न थालेको आरोप लगाएका छन् । धनगढीमा प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले कार्यकारी प्रधानमन्त्री भनेर ओलीले मनमौजी गरेको आरोप लगाएका हुन् । उनले मन्त्रिपरिषद् विस्तारसंगै हरेक कार्य गर्दा ओलीले संविधान मिचेर गरेको आरोप लगाए । ओली सरकारकै मन्त्रीले पनि निर्वाचन नहुनसक्ने भन्दै अभिव्यक्ति दिएको बताउँदै रावलले नेकपाको आधिकारिकताको विषयमा निर्वाचन आयोगले स्पष्ट निर्णय लिनुपर्ने बताए । 

‘निर्वाचन आयोगले निर्वाचन बहुमत जस्ले ल्याउँछ त्यस्लाई बिजयी घोषणा गर्नको लागि हो,’ उनले भने, ‘नेकपाको दुई तिहाईभन्दा बढि केन्द्रिय सदस्य हाम्रो साथमा छन् । त्यो बहुमतलाई किन आधिकारीक नमान्ने ? निर्वाचन आयोगलाई पनि प्रश्न गर्न चाहन्छु–बहुमतको आधारमा लोकतन्त्र नचल्ने हो भने निर्वाचन के को लागि ?’ निर्वाचन आयोगले केन्द्रिय सदस्यलाई बोलाएर सनाखत गर्नुपनर्गे र त्यस्का लागि आफु तयार रहेको रावलले बताए ।