सुदूरपश्चिममा कोरोना विरुद्धको खोप लगाउन १० वटा केन्द्र तोकियो
 
corona

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना विरुद्धको खोप लगाउनका लागि १० वटा खोप केन्द्र तोकिएको छ। प्रदेश सामाजिक विकास मन्त्रालयले कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुरलाई खोप केन्द्र रुपमा तोकेको छ।

प्रदेशका बाँकी अन्य ८ वटा जिल्लामा जिल्ला अस्पताललाई खोप केन्द्र तोकिएको छ।  संघीय सरकारले सुदूरपश्चिमका १६ हजार २ सय ९३ जनालाई पुग्‍नेगरी कोरोना भाइरस विरुद्धको खोप पठाएको छ । स्वास्थ्य सेवा विभागले रेफ्रिजेटर भ्यान मार्फत आइतबार कोरोना विरुद्धको खोप पठाएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

उनले भने-‘मंगलबारसम्म खोप सुदूरपश्चिम पुग्ने भएको छ, त्यसका लागि आन्तरिक व्यवस्थापनको काम समेत थालिएको छ।’  प्रदेश सरकारले प्रदेशका सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविकालाई प्राथमिकतामा राखेर खोप, अभियानकै रुपमा सञ्चालन गर्ने तयारी गरेको छ।

मन्त्रालयका प्रवक्ता कार्कीका अनुसार पहिलो चरणमा खोप लगाउन १६ हजार २ सय ९३ जना स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिएको छ।

उनीहरुलाई माघ १४ गतेदेखि १८ गतेसम्म पहिलो चरणको खोप लगाइने कार्कीले बताए । प्रदेशको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले खोप भण्डारणको सबै तयारी सकिएको जनाएको छ।