कञ्चनपुरको सीमा क्षेत्रमा गोलीकाण्डः घाईते भन्छन्–सामान किनेर फर्कदै थिए, प्रहरी भन्छ– रुख काट्दै थिए
 
goli

सोमबार कञ्चनपुरको नेपाल भारत सीमा क्षेत्रमा गोली लागेर घाईते भएका दोधारा चाँदनी नगरपालिका –१, बलयलबन्द स्याउले टोलका १६ वर्षीय नरेश सुनारको अहिले महाकाली अस्पतालमा उपचार भईरहेको छ । बजारबाट सामान किनेर फर्कदै गरेको अवस्थामा आफू माथि गोली प्रहार भएको घाईते सुनार बताउँछन् । तर, प्रहरीले भने रुख काटिरहेको अवस्थामा उनी माथि आक्रमण भएको जनाएको छ ।

रुख काटिरहेको बेला उनीहरू माथि आक्रमण भएको र सुनारलाई छर्रा लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए । ‘घटना स्थलमा एउटा रुख काट्दै गरेको पनि देखिएको छ । फलामको आरा पनि त्यही छ ।’ उनले भने ‘त्यो बेला यिनीहरू काठ चोरी गर्न गएको पाईएको छ ।’

भारतीय वन रक्षकले उनी माथि गोली प्रहार गरेको हुन सक्ने अनुमान प्रहरीको छ । काठ तस्करीमा घाईते सुनार बाहेक अन्य दुई जना पनिसँगै रहेको प्रहरीले जनाएको छ । मङ्गलवार बिहान सम्पर्कमा आएका सोही ठाउँमा बब्लु चन्दको बयानका आधारमा पनि उनीहरू रुख फडानी गर्न गएको बुझिएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

मंगलवार बिहान घटनास्थलको अनुगमनमा गएको टोलीले पनि वन फडानी भईरहेको जनाएको छ । ‘यहाँ धेरै रुख काटिएका छन’ दोधारा चाँदनी नगरपालिका मेयर वीरबहादुर सुनारले भने ‘हामी यहाँ पुगेर हेर्दा बन फडानी रोक्दा उनी घाईते भएको देखिन्छ ।’