मन्त्री लेखराज भट्टले प्रचण्डबारे भने– ‘अध्यक्ष कमरेडले १० वटा सरकार गिराई सक्नुभएको छ’ (भिडियो सहित)
 
lekh raj bhatta

नेकपा ओली समूहका सुदूरपश्चिम संयोजक तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले १० वटा सरकार गिराईसकेको प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले यस्तो बताएका हुन् । ‘अध्यक्ष कमरेडले १० वटा सरकार गिराईसक्नुभएको छ । रेकर्ड । पार्टी त नेकपासम्म उहाँले विघटन गराउनुभयो । यो प्रवृत्तिक विरुद्ध हामी जनताको बीचमा गईरहेका छौ ।’ 

उनले बैशाखमा निर्वाचन हुने दावी गर्दै नेकपा त्यस्को तयारीमा जुटिसकेको बताए । उनले तत्कालै प्रदेश सरकार फेरवदलको कसरतमा आफ्नो पक्ष नलागेको समेत बताए । ‘संस्थापन पक्ष छ, यस्ले कसैलाई बदलिहाल्ने र कसैसंग गठबन्धन गरिहाल्नेबारे सोचेको छैन् ।’ उनले भने, ‘उहाँहरुले के गर्नुहुन्छ र कस्ता क्रियाकलपा गर्नुहुन्छ । त्योलाई गम्भीरतापूर्वक संघीय सरकार र पार्टी नेतृत्वले हेरिरहेका छौ । छिट्टै स्थायी समितीको बैठक बस्छ । त्यस्ले कस्तो कदम चाल्नेबारे निर्णय गर्छ ।’ 

उनले मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेर राजनीतिक संस्कार विपरित काम गरेको बताए । 
यस्तै नेकपा सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले आफ्नो अनुपस्थितीमा प्रदेश कमिटीले गरेको निर्णय खारेज गरिदिने बताएका छन् । सोही पत्रकार सम्मेलनमा थापाले नेकपा प्रदेश कमिटीले गरेका निर्णय खारेज गर्ने बताएका हुन् । 

यसअघि नेकपाका सुदूरपश्चिम ईञ्चार्ज तथा प्रचण्च पक्षका नेता भीम रावलको उपस्थितिमा भएको बैठकले प्रदेश अध्यक्ष थापा सहितलाई कारवाहीका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको थियो ।