सुदूरपश्चिमका अर्थमन्त्रीको पद पनि धरापमा, लाईन क्लियर गर्न मुख्यमन्त्रीको निर्देशन
 
jhapat bohara

सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री पठान सिंह बोहोरालाई मन्त्री पदबाट बर्खास्त गरिएपछि प्रदेशका अर्का मन्त्रीको पद पनि धरापमा परेको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराको पद पनि धरापमा परेको हो । केपी ओली गुटका भौतिक पुर्वाधार मन्त्रीलाई हटाईएपछि अर्थमन्त्रीलाई पनि हटाउने दबाब मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिईएको छ ।

मन्त्री बोहराले राजीनामा दिने चर्चा चलिरहेका वेला मुख्यमन्त्री भट्टले उनलाई लाईन क्लियर गर्न निर्देशन दिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । बर्खास्त गरिएका मन्त्रीको विषयमा नयाँ मन्त्री नियुक्तीको बारेमा छलफल हुन बाँकी रहेको बताउँदै उनले अर्थमन्त्रीलाई आफ्नो लाईन क्लियर गर्न भनिएको बताए । अर्थमन्त्री बोहोराको जवाफ आएपछि उनलाई के गर्ने भन्ने निर्णय हुने मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ । 

यता राजीनामा दिने हल्ला चलेका वेला आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले भने अहिले नै राजीनामा दिने पक्षमा नरहेको बताएका छन् । उनले अवस्था र परिस्थति त्यस्तै आएमा राजीनामा दिने वा नदिने भन्ने निर्णयमा पुगिने बताए । मुख्यमन्त्रीले लाईन क्लियर गर्नका लागि भने आफुलाई दबाब नदिएको उनको जिकिर छ । वैधानिक रुपमा पार्टी नफुटेकोले अहिलेसम्म आफु पार्टी एकताकै पक्षमा रहेको जिकिर गर्दै उनले भोलीको दिनमा लाईन क्लियर गर्नुपर्ने अवस्था आएमा आफु पनि खुलेर लाईनमा लाग्ने बताए । आफु अझै केही दिन हेर र पर्खको स्थितिमा रहेको बताए ।