२० अर्ब बढी लगानी रहेका सुदुरपश्चिमका होटल संकटमा, होटल व्यवसायी पलायन हुने अवस्थामा, ४५ हजारको रोजगारी गुम्यो 
 
hotel

कोरोना भाइरस (कोभिड–१९) का कारण सुदूरपश्चिम प्रदेशका होटल तथा पर्यटन व्यवसाय संकटमा परेका छन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण होटल व्यवसाय बन्द हुँदा २० अर्ब लगानी भएका होटलहरु धरासायी हुँदै गएका छन् । दुई महिनाभन्दा लामो समयदेखिको लकडाउनका कारण सबैभन्दा बढी मार होटल व्यवसायमा परेको होटल व्यवसायी संघ कैलालीले जनाएको छ । लकडाउनका कारण होटल व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन । होटेलहरुमा रोजगारी पाएका ४५ हजार मानिसको रोजगारी समेत गुमेको छ । 

होटेल व्यवसायी संघले कैलालीमा मात्रै करिब १० अर्वको लगानी सहित खुलेका साना ठूला गरी २५ सय होटल तथा रेष्टुरेन्टहरु लकडाउन कारण दैनिक दुई करोड ८० लाख घाटा व्यहोर्दै आएका छन । दुई महिनाभन्दा वढी समयदेखि होटेल बन्द गर्नुपर्दा जिविकोपार्जन गर्न र कर्मचारी तथा मजदुरको परिश्रमिक दिन, घरभाडा र ऋणको व्याज तथा किस्ता तिर्न नसक्ने गरी व्यवसायीहरु धरासायी बन्दै गएको संघका अध्यक्ष कलमबहादुर बमले बताए ।

लकडाउन भएदेखि हालसम्म कैलालीमा होटल व्यवसाय क्षेत्रमा करिव २ अर्वको घाटा भएको छ । कैलालीमा सबै होटलहरुमा १६ हजार मानिसले प्रत्यक्ष रोजगारी गरिरहेको अवस्थामा होटेल बन्द हुँदा अधिकांश मजदुरहरुले पारिश्रमिक पाउन सकेको छैनन । सुदूरपश्चिम प्रदेशमा करिब २० अर्ब लगानी भएको, ७ हजार भन्दा बढी होटलहरु खुलेको र त्यसमा ४५ हजार जनाले रोजगारी पाएको होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको तथ्यांक छ । ती होटलहरुमा दैनिक ७ अर्ब बराबरको कारोबार हुँदै आएकोमा लकडाउनपछि होटलहरु दैनिक रुपमा घाटा व्यहोर्दै संकटमा पर्दै आएका छन । 

d

अझै केही समय यस्तै अवस्था रहिरहेमा होटल व्यवसाय नै वन्द भई टाट पल्टिने अवस्था आउने र व्यवसायी नै वेरोजगारी हुने अवस्था बढ्दै जाने निश्चित रहेको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष बमले बताए । अधिकांश होटलहरु ऋण र घर भाडा लिएर सञ्चालन गरिएकाले व्यवसायीहरु समस्यामा पर्न थालेका छन । 
‘उत्साहित भई आफ्नो जायजेथा वैंक तथा वित्तिय संस्थामा धितोवन्धक राखी ऋण लिएर लगानी वढाएका तथा नयाँ व्यवसाय संचालन गरेका व्यवसायीहरुको लगानी वालुवामा पानी भएको छ । अव यो महामारी कहिले नियन्त्रण हुन्छ ?

कहिलेबाट बजार खुल्ला भई आर्थिक कारोवार सामान्य अवस्थामा फर्किन्छ भन्ने कुनै निश्चित छैन,’ अध्यक्ष बमले भने–‘बजार सामान्य अवस्थामा आएमा पनि होटल व्यवसाय पूर्ववत अवस्थामा फर्कन थप केही महिना लाग्ने निश्चित छ । त्यस कारण लकडाउन अवधिबाट संक्रमण कालभरीको राज्यलाई दाखिला गर्नुपर्ने सवै प्रकारका कर छुटको व्यवस्था गरी दिन र मुल्य अभिवृद्धि करमा थप दस्तुर, व्याज, जरिवाना नलाग्ने व्यवस्था गरिदिन र होटल व्यवसायमा काम गर्ने कर्मचारी तथा मजदुरको उचित व्यवस्थापन तथा राहतको व्यवस्था मिलाइदिन सरकारसँग् माग गर्दछौं ।