सरकारलाई सडक र संसदबाट खबरदारी गर्नु नै अहिलेको आवश्यकता होः गगन थापा (भिडियो सहित)
 
gagan thapa

नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारलाई सडक, संसदमा दबाब दिनु प्रतिपक्षको धर्म भएको बताएका छन् । ‘योभन्दा पहिला प्रतिपक्षको भूमिकामा जनताको चित्त दुखाइ थियो’, धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘प्रतिपक्षले सशक्त रूपमा सरकारलाई दबाब दिन कांग्रेसले प्रारम्भ गरेको छ । हिजोको प्रदर्शनले पनि यो सन्देश दिएको छ ।’ अहिलेको आवश्यकता  नै संसद र सडकको शक्तिलाई एकाकार गरी सरकारलाई खबरदारी गर्ने समय आएको उनको भनाइ छ ।

उनले नेकपामा भएको झगडा आन्तरिक कुरा भएको उल्लेख गरे । ‘नेपाल कम्युनिस्टमा भएको झगडा उहाँको आन्तरिक विषय होला । यो बेला पार्टीको ध्यान महामारीका समस्याहरू हल गर्नेतर्फ खिचिनुपर्छ भन्ने मान्यता मेरो छ’, उनले भने, ‘अहिले काठमाडौँको माइतीघर मण्डलमा किसानहरू आन्दोलनमा हुनुहुन्छ । तर, सरकारका उद्योगमन्त्री उहाँहरू किसान होइनन्, दलाल हुन् भन्नुहुन्छ । यो बेला प्रतिपक्षले सरकारलाई जनताका दुःखप्रति जिम्मेवार बन्न घच्घच्याउने समय हो ।’

कांग्रेसले दिएका सुझावलाई सरकारले बेवास्ता गरेकै कारण सडक आउन बाध्य भएको उनको तर्क छ । ‘नेपालको प्रधानमन्त्री बिहानदेखि बेलुकासम्म व्यस्त हुनुहुन्छ तर, जनजीविका सवालहरू उहाँको प्राथमिकतामा छैन’, उनले भने ।  नेता थापाले पार्टीको महाधिवेशन अहिलेकै कार्यतालिकामा हुन नसक्ने बताए । अब बस्ने बैठकले नयाँ कार्यतालिका तय गर्ने उनले उल्लेख गरे । ‘सम्भवतः वैशाखमा महाधिवेशन तोकिन्छ होला’, उनले भने ।