
कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाएर गोदावरी नगरपालिका–८ स्याउलेका ३२ वर्षीय उद्धव श्रीमालको शव आइतबार नेपाली सेनाले व्यवस्थापन गरेको छ । भवानी दल गण तेघरीबाट जमप्रकाश बमको कमाण्डमा खटेको सेनाको तालिम प्राप्त टोलीले मृतकको शव व्यवस्थापन गरेको हो ।

गोदावरी नगरपालिका–२ मा रहेको आर्यघाटमा हिन्दू संस्कार अनुसार शव व्यवस्थापन गरिएको जनाइएको छ । सेती अञ्चल अस्पतालमा आइसीयुमा राखेर उपचार गर्ने क्रममा शनिबार बेलुका पाँच बजे श्रीमालको ज्यान गएको थियो । उनी मधुमेह र कडाखाले निमोनियाबाट ग्रसित थिए ।
यसैगरी, सेनाले शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकका ५८ वर्षीय हरिवीर कठायतको शव पनि हिन्दू संस्कार अनुसार व्यवस्थापन गरेको छ । कोरोना सङ्क्रमणका कारण शुक्रबार राति उनको ज्यान गएको थियो ।
