
कञ्चनपुरमा प्रहरीले १ लाख २० हजार बढीका अवैध सामान बरामद गरेको छ । कञ्चनपुर प्रहरीका अनुसार जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडी क्षेत्रमा बेवारिसे अवस्थामा फालिएको १ लाख २० हजार ७ सय मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।

आइतबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह र कञ्चनपुर प्रहरीको सङ्युक्त टोलीले सडक छेउबाट चिनि, स्टिलको थाल, सिल्भरको डेक्ची, कराई, तावा, लोटा, बोरीङको पाईप लगायतका सामान बेवारिसे अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले बताएको छ ।
उक्त सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको कञ्चनपुर प्रहरी प्रवक्ता अमर बहादुर थापाले बताएका छन् ।
