‘गाडीको भाडा लिनु थियो, सब हिमेश विकले भनेपछि गरेको हुँ’
कैलालीमा पत्रकार बार्गेनिङ काण्डः 
 
rape

कैलालीका दुई पत्रकारले ‘बार्गेनिङ’ गरेको अडियो बाहिरिएपछि फोन गर्ने गोविन्द विसीले आफुलाई हिमेश विकले भनेपछि फोन गरेको स्वीकार गरेका छन् । उनले विगत ८ महिनादेखि आफ्नो गाडी प्रयोग गरे बापतको भाडा माग्दा आफुले रकम लिनुपर्ने भन्दै त्यहाँ फोन गरेर लिन भनेको विसीको दाबी छ ।

नाईस टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हिमेश विक र नाईस टेलिभिजनमै आबद्ध गोविन्द विसीले ‘बार्गेनिङ’ गरेर असुल गरेको २५ हजार रकम फिर्ता गरिसकिएको छ । तर विसीले यसमा आफ्नो कुनै दोष नरहेको र सबै काम हिमेशकै निर्देशनमा गरेको स्वीकारोक्ती गरेका हुन् । 

दुई लाखमा ‘बार्गेनिङ’ गरेको र पछि एक लाख रुपैयाँ दिनुपर्ने भन्दै मेडिकल सञ्चालकलाई धम्की दिदै आएकोमा मेडिकल सञ्चालक सक्सेनाबाट थप ७५ हजार असुल्न धम्की दिएको टेलिफोन संवाद बाहिरिएको थियो । फोनमा रकम माग गर्ने विसीले यो घटनामा आफु निर्दोष रहेको भन्दै सञ्चार माध्यममा लिखित पत्र समेत पठाएका छन् । 

बार्गेनिङ गरेको आरोपमा लागेका गोविन्द विसीले लेखेको पत्र उनकै शब्दमा पढ्नुहोस् । 
आजभन्दा आठ नौ महिना पहिले मेरो से १ च ५५१  नम्बरको जीप  भाडाका लागि पत्रकार हिमेश विकलाई दिएको ठीक साँचो हो । म स्वयम् चालक बनेर पटक पटक सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा गएको पनि थिए । पत्रकार हिमेश विकले गाडीलाई मासिक पचास हजार दिने सर्तमा भाडामा लिएका थिए । पत्रकारिता गर्ने रहरका कारण केही कुराहरु सिक्ने अवसर पाउनुका साथै गाडीको मासिक भाडा बापतको रकम जिविकोपार्जनको माध्यम बनोस् भन्ने उद्देश्यले म पत्रकार हिमेश विकसँग    सहकार्य गर्दै अगाडी बढेको पनि हो ।   

लामो समयसम्म गाडी प्रयोग गर्दा मेरो गाडीको भाडाको रकम दिन बाँकी रहेकोले पटक पटक बैंकले किस्ताका लागि ताकेता गर्दै आएकोमा मैले हिमेश विकसँग भाडाको रकम माग्दै आएको थिए । मलाई तपाई आफै गएर मैले असुल्नुपर्ने रकम उठाएर गाडीको भाडा कटाउनुहोस भनेको अवस्थामा गौरीगंगा नगरपालीका चौमाला स्थित श्रीवास्तवक मेडिकलका सञ्चालक कमलेश सक्सेनालाई फोन गरेको साँचो हो ।

मैले हिमेश विकबाट पाउनुपर्ने रकम नपाउने अवस्था देखेर नै सक्सेनालाई फोन गरेको हो । यसमा मेरो बार्गेनिङ र अन्य फिरौती प्रयोजनका लागि पनि फोन गरेको होईन । न त मैले कसैलाई फोन मार्फत धम्की दिएको छु न त बार्गेनिङ नै गरेको छु । म त्यो बेला कुनै पनि पत्रपत्रिकासँग आबद्ध थिएन् । अहिले भने नाईस टीभिको रिर्पोटर रहेको छु । 

फोन वार्तालाई विभिन्न अनलाईन र पत्रिकामा मेरो सामाजिक जीवनमा ठेस पुग्ने गरी विषयवस्तुको गहिराईमा नपुगी फोनकै संवादलाई लिएर चरित्र हत्या गर्ने काम भएको छ । यसप्रति मेरो गम्भीर ध्यान आकर्षित भएको छ । घटनाको सत्यतथ्य पत्ता नलगाई एकतर्फी रूपमा अडियोको भरमा चरित्र हत्या गरिएको प्रति खेद प्रकट गर्दछु । 
 

हिमेशले ठगी र ‘बार्गेनिङ’ गरेका घटनाहरु बहिरिदैं 
नाईस टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हिमेश विकले गरेका ठगी र ‘बार्गेनिङ’ गरेका घटनाहरु एकपछि अर्को बहिरिदै गएका छन् । उनले समाचार प्रकाशन गरिदिने भन्दै धम्काउने, पैसा नभएको चेक दिने, उधारो खाएर भाग्ने, विभिन्न बहाना बनाएर ठगी गर्ने जस्ता घटनाहरु बाहिरिरहेका हुन् ।

केही समय आर्थिक दैनिकमा कार्यरत पत्रकार बिक यस्तै ‘बार्गेनिङ’ का घट्नाहरु बहिरिएपछि निष्कासन गरिएका थिए । यतिबेला भने आर्थिक ‘बार्गेनिङ’ र ठगी गरेका घटनाहरु एकपछि अर्को गर्दै बाहिरिएपछि समग्र पत्रकारिता जगत नै बद्नामित भएको भन्दै सञ्चारकर्मीहरुले सामाजिक सञ्जाल रंगाउँदै आएका छन् ।