धनगढीमा प्रहरी हत्याका आरोपीलाई कोरोना पुष्टि, अदालतमा उपस्थित गराउन ढिलाई 
 
corona

धनगढीको जुगेडामा रहेको सिमा नाकामा गस्तीमा खटिएका प्रहरी हत्यामा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका एक जना आरोपीलाई कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एक साता अघि गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनी अहिले प्रहरी कार्यालय भित्रैको आईसोलेसनमा छन् । उनलाई संक्रमण भएकै कारण प्रहरी हत्याको मिसिल तयार भए पनि प्रहरीले अदालतमा उपस्थित गराउन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता हिक्मत थापाले जानकारी दिए । १४ दिन पुगेपछि उनको परीक्षण गर्ने र रिर्पोट नेगेटिभ आएपछि अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

गत कार्तिक  १ गते राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जगेडाका ईन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान राम बहादुर साउँदको उनी लगायत तस्कर समूहले हत्या गरिएको थियो । हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ ।