गाड्नु त जमिनमै पर्दो रहेछ............
 
arun joshi kabita

बेतोडले दौडिरहेको पैतला
बिस्तारले सोच्दै थियो
जिन्दगी साइकल भएको भए
क्याबात हुने थियो
गर्मीले तातेको ज्यानमा
शितल बर्षात हुने थियो ।।

भयो इच्छा पुरा साइकल बन्ने
समाजको अब म गन्नेमाने
तर अपसोस झन्
बोझ पो रहेछ साईकल
कति मारिराख्नु हौ पाईडल
बरु चिल्लो गाडी हुन पाए
सहरका सडकमा सरर गुड्न पाए ।।

त्यो दिन पनि आयो
गर्वसाथ स्टेरिङ्ग घुमाउने
मिनेट मिनेटमा मिरर मिलाउने
सडकमा हिडेको पैतलालाई जिस्काउने
यतिकैमा आकाशमा कुदेको
हवाइ जहाजमा नजर गयो
वाह यो पो हो जिन्दगीको मजा
निस्फिक्री आकाशमा उड्नु
निलो त्यो गगन चुम्नु ।।

अन्ततः जहाज बनेपछि
आकाशका तारा गनेपछि
यात्रुको मनोदशा बुझेपछि
डरले फनफनी घुमेपछि
बल्ल जमिनको याद आउन थाल्यो
मनले माटोको महिमा गाउन थाल्यो
जीवनको रहस्य आँखामा छाउन थाल्यो ।।

जहाजले आखिर जति आकाश चुमेपनि
उत्रनु जमिनमै पर्दो रहेछ
अभिमानले शिर जति उचाईमा पुगेपनि
पैतला जमिनमै पर्दो रहेछ
जीवन भर शरीर जति माथि उडेपनि
गाड्नु त जमिनमै पर्दो रहेछ ।।