सुदूरपश्चिममा सघन उपचार कक्ष लगायतका पूर्वाधारहरुको कमी
 
corona

सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही समययता कोरोना भाइरसबाट सङ्क्रमित बिरामीमध्ये गम्भीर लक्षण सहितका बिरामीहरु बढिरहेको भएपनि यहाँ सघन उपचार कक्ष लगायतका पूर्वाधारहरुको कमी देखिन थालेको छ ।

सुदूरपश्चिम प्रदेशमा रहेका २३ वटा आइसियु शय्या र १७ वटा भेन्टिलेटर गम्भीर खालका बिरामीले भरिन थालेपछि नयाँ बिरामीलाई समस्या हुने देखिएको छ । सात पहाडी जिल्लामध्ये डडेल्धुरामा दुई वटा भेन्टिरलेटर रहेपनि बाँकी छ जिल्लामा आइसियु र भेन्टिलेटर छैन । 

प्रदेशकै कोरोना अस्पतालका रुपमा घोषणा गरेर सङ्क्रमितहरुको उपचारमा सक्रिय सेती प्रादेशिक अस्पतालले व्यवस्थान गरिरहेको ५० शय्याको कोरोना अस्पतालमा बिरामीहरु भरिएका छन् । आजसम्म गम्भीर लक्षण देखिएका १७ जनाको आइसियुमा उपचार भइरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ स्रोत व्यक्ति हेमराज जोहीले बताए ।

उनले प्रदेश सरकारले पनि २० वटा थप भेन्टिरलेटर खरिद गरी हरेक जिल्ला अस्पतालमा दुई÷दुई वटाका दरले जडानको प्रक्रियामा रहेको जानकारी दिए । उनले तत्काल बिरामीको अवस्था हेर्दा आइसियु बेड थप्नुपर्ने आवश्यकता देखिएको बताए । धनगढीस्थित ५० शैयाको अस्थायी अस्पतालमा ४८ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये सबैभन्दा कैलालीका ३७ जना, कञ्चनपुरका चार, अछाम र  डडेल्धुराका दुई÷दुई र बझाङ्ग,  दार्चुला र बैतडीका एक/एक जना कोरोना सङ्क्रमितको धनगढीमा उपचार भइहरहेको छ ।

हाल १० हजार १५४ जना सङ्क्रमित रहेको सुदूरपश्चिम प्रदेशमा आठ हजार ४८५ जना निको भएर घर फर्किसकेका छन् । महेन्द्रनगर स्थित महाकाली अस्पतालमा पिसीआर विधिबाट कोरोना जाँचका लागि मेसिन खरिद गरिएको भएपनि सञ्चालनमा आउन सकेको छैन ।सुदूरपश्चिममा धनगढी, डोटी, डडेल्धुरा, बैतडी र बझाङ्गमा पिसीआर विधिबाट हरेक दिन कोरोना परीक्षण हुदै आएको छ । कोरोना सङ्क्रमणबाट सुदूरपश्चिममा हालसम्म २७ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।