धनगढीमा पक्राउ परेका वडाध्यक्षलाई नागरिकता ऐन अनुसार कैद गर्न प्रहरीको राय
 
pakrau

धनगढीमा भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिएको आरोपमा पक्राउ परेका वडाध्यक्षलाई नागरिकता ऐन अनुसार कैद गर्न प्रहरीले राय दिएको छ । वडाध्यक्ष सहितका चारै जनामाथि अनुसन्धान गर्दै प्रहरीले उनीहरु सबैलाई नागरिकता ऐन अनुसार कारवाही गर्न सरकारी वकिलको कार्यालयलाई राय पठाएको हो । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी सहितका ४ जनामाथि अनुसन्धान गर्दै  मिसिल सरकारी वकिलको कार्यालयलाई बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । वडाध्यक्षमाथि झुठो विवरणका आधारमा नागरिकता दिलाउन सिफारिस गरेको अभियोगमा नागरिकता ऐन २०६३ बमोजिम कारवाही गर्न राय सहितको मिसिल सरकारी वकिल कार्यालयमा बुझाईएको प्रवक्ता विष्टले बताए ।

नेपाली नागरिकता ऐन २०६३ मा विदेशीले नेपाली नागरिक भएको झुठो दावी गरी नागरिकता प्राप्त गरेमा १ वर्षदेखि ५ वर्ष सम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ । दण्ड सजाय सम्बन्धी ऐनको दफा २१ मा सो व्यवस्था छ । सो दफा बमोजिम सजाय भएमा प्राप्त गरेको नागरिकता स्वतः रद्द हुने उल्लेख गरिएको छ । 

सोही दफाको उपदफा २ मा कुनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तीलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । यस्तै वडाध्यक्षसँगै पक्राउ परेका झुठो विवरण बनाई नेपाली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी, नक्कली बुवा बनेका धनगढी १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीका दाजु खुसिराम चौधरी र गीता चौधरीमाथि पनि अनुसन्धान सकेर सोही ऐन अनुसार कारवाही गर्न राय दिएको प्रहरीले जनाएको छ ।

नक्कली बुवा बनेका चौधरी भने फरार छन् । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले बुझाएको मिसिलमाथि अध्ययन भइरहेको जनाएको छ । प्रहरीको राय अनुसार अब सरकारी वकिल कार्यालयले उनीहरुमाथि कारवाहीको माग दावी सहित अदालतमा मुद्दा दर्ता गर्नेछ ।  २०७५ साल फागुन २० गते नक्कली बुवा बनेर भारतीय नागरिकलाई नागरिकताको सिफारिस दिएको भन्दै प्रहरीले कात्तिक ११ गते वडाध्यक्ष जोशीलाई पक्राउ गरेको थियो । टीकापुरमा बस्दै आएका भारतीय नागरिक अन्सारी सहितका ३ जनालाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।