पति वियोगमा असई गोविन्द विककी पत्नी पुजाः दशैंमा तिलहरी लाउने अधुरै रहरमा सिउँदो पुछियो (भिडियो)
 
hatya

तस्करले हत्या गरि मारिएका धनगढीको जुगेडा वडा नम्बर १२ स्थित अस्थायी प्रहरी पोष्टका ईन्चार्ज गोविन्द विककी श्रीमति पुजा अझै पति वियोगमा रहेकी छिन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की २१ बर्षीय पुजाले घटना भएको डेढ साता हुन लाग्दा पनि आफुलाई सम्हाल्न सकेकी छैनन् ।  उनको आश्रुधारा रोकिएका छैनन् । उनी छाती पिट्दै छिनछिनमा मुर्छित हुन्थिन् । बन्नै लागेको अधुरो घरको एक कुनामा भावविह्ल भएर पति वियोगमा छटपटिरहेकी छिन् उनी । 

जवानी छँदै पती वियोगले विक्षिप्त बनेकी उनको मुखबाट राम्ररी आवाज पनि आउदैन । बोल्न खोज्दा मन भक्कारिएर आँखाबाट आँसुको बर्षा गर्छिन् । पत्नी पूजाले जीवनको सूर्य नै सदाका लागि अस्ताएको अनुभुति गरिरहेकी छिन् । उनको सिउँदोको सिंन्दुर मात्रै पुछिएको छैन् उनको जीवन पनि वेसहरा बनेको छ । बुबाको हत्या भएपछि दुबै छोरीहरुको जीवनको छँहारी गुमेको छ । मृतक परिवारको यो कारुणिक दृष्यमा हर्षका सञ्चार हुने केवल दैवलाई थाहा होला ।

सबैका आँखा रसाएका छन् । प्रहरी चौकीका ईन्चार्ज सहायक प्रहरी निरिक्षक गोविन्द बिक र प्रहरी जवान टेकवहादुर बिक डिउटीकै क्रममा कार्तिक १ गते राति तस्करहरुबाट मारिएपछि उनीहरु दुबैको परिवार उजाडिएको छ । दुबै परिवार शोकमा डुबेका छन् । कार्तिक २ गते विहान मोहना नदीमा हत्या गरी फालेको अवस्थामा भेटिएका गोबिन्द कार्तिक ३ गते (सोमबार) कञ्चनपुरको दोदा नदीमा विलाए । 
असई बिक घटना भएको शनिबार साँझ मात्र धनगढी शिवनगर स्थित डेरामा श्रीमती र छोरीसँग भेट गरेर फर्केका थिए । दोस्रो दिन बिहान खाना खाने गरी आउँछु भन्दै डिउटीमा फर्किएका गोविन्द कहिल्यै नफर्किने गरी बिदा भए ।

उनले यसपालीको दशैंमा पुजाको गलालाई तिलहरीले सजाउने बचन दिएका थिए । यसअघि पटक पकट हुने फोन वार्तामा पनि दशैं आउने वेलासम्म तिलहरी किनि दिने भन्दै आएका थिए । तर गोविन्दले श्रीमतिका लागि तिलहरी किन्ने सपना पुरा गर्न सकेनन् । श्रीमानले आफ्नो रहर अधुरै राखेको भएपनि पुना सहन्नि होला । चित्त बुझाउँथिन होला । तर जीवनको सहारा नै गुमेपछि उनलाई सहन गाहे भएको हो । गलामा तिलहरी लगाउने अधुरै रहरमा अझ उनको सिउँदोको सिन्दुर पनि पुछिएपछि उनी निकै मर्माहित भएकी छिन् । 

असई विकको हत्यापछि पत्नी पूजा जीवनमा बज्रपात भयो । ६ वर्षीया छोरी आरोही र ३ वर्षीया छोरी आरुषीले पनि बाबाको न्यानो सहारा सदाको लागि गुमाए । विपन्न परिवारका एक्लो कमाइका स्रोत गोविन्दको निधनले उनको बन्नै लागेको नयाँ घरले तुरुन्तै छत नपाउने भएको छ । बिरामी भाई र बेरोजगार दाई पनि गोविन्दको दुःखद अवशानले टुहुरो झै भएका छन् ।