
कोरोना भाइरसको जोखिम बढ्दै गइरहेकोले यस वर्ष बैतडीमा दशैँ तिहारका बेला मन्दिरमा हुने मेला, जात्रा, बलि चढाउनमा रोक लगाइएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा हुने सबै भिडभाड, जात्रा मनाउने र बलि चढाउने जस्ता काममा रोक लगाउने निर्णय गरेको हो ।

दशैँको बेला हुने भिडभाड तथा मेला र जात्राले कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएकोले सबै किसिमका भिडभाड हुने कार्यक्रममा रोक लगाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
कोरोना संक्रमण बढ्ने भएकोले यसपालिको दशैँ, तिहार घरमै बसेर मनाउन आग्रह समेत गरिएको उनले बताए । यसका साथै सार्वजनिक यातायातमा अनिवार्य स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिइएको छ ।
