ड्युटीमै हत्या गरिएका असई विकको परिवार शोकमा, अर्का प्रहरीको अवस्था अझै अज्ञात
 
death

हत्या गरिएको अवस्थामा शव फेला परेका धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको परिवार शोकमा डुबेको छ । घरको अभिभावक नै गुमाएपछि कञ्चनपुरको पुनर्वास नगरपालिका ९ ख गाउँमा बस्दै आएको उनको परिवारमा रुवावासी चलेको छ । 

अति विपन्न परिवारमा ३ जना दाजुभाइमध्येका माइलो विकले घरपरिवारको लालनपालनको जिम्मेवारी सम्हालेका थिए । भूमीहिन विपन्न परिवारका अभिभावक रहेका असई बिकले १२ जना परिवारको लालनपालन गर्दै आएका थिए । उनकी श्रीमती र दुई छोरी छन् । प्रहरी सेवामा ३ वर्ष मात्रै बिताएका विक २ महिना पहिले सुर्खेत जिल्लामा कार्यरत रहेका थिए । त्यसपछि उनी सरुवा भएर कैलाली आएका थिए । 

यसैबीच विकसँगै ड्युटीमा गएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै पत्ता लाग्न सकेको छैन् । रातिदेखि सम्पर्क विहीन भएका विकको शव हत्या गरेर मोहना नदीमा फालेको अवस्थामा फेला परेपनि साउँदको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । उनको अवस्था बारे अहिलेसम्म थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टले बताए । 

बेपत्ता प्रहरी जवान साउँदको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरीको अत्तरिया स्थित ७ नम्बर बाहिनीको गोताखोर टोली परिचालन भएको सशस्त्रका डिआइजी हरिशंकर बुढाथोकीले बताए ।