मोहना नदीमा स्काई फोल्डिङ पुल निर्माणले कृष्णपुरका बासिन्दालाई राहत
 
pool

मोहना नदीमा पुल निर्माण नहुदा सास्ती खेप्दै आएका कञ्चनपुरको कृष्णपुर नगरपालिका बासिन्दाका लागि स्थानीय दुई युवकले निर्माण गरेको स्काई फोल्डिङ पुल बरदान भएको छ । कैलालीको सदरमुकाम धनगढीमा निर्भर कञ्चनपुरको कृष्णपुर नगरपालिकाका अधिकांश वडाका बासिन्दाले मोहना नदीमा पुल निर्माण नहुदा निकै कठिनाई झेल्नु परेको थियो ।

रोजगारीका क्रममा बिगत १५ वर्षदेखि ओमानमा रहेका स्थानीय ज्ञान बहादुर चौधरीले तीन वर्षअघि बिदामा घर आएका बेला बर्षायाममा आवात जावत गर्न नसक्दा नदी किनारमै बिरामीको मृत्यु भएको देखे ।  त्यसपछि भने उनी चुप बसिरहन सकेन । २१ दिनको बिदामा घर आएका उनले त्यही अबधिमा आफूले ओमानमा प्रयोग गर्दै आएको स्काई फोल्डिङ प्रबिधिलाई उपयोग गरे । र साथी बिनोद भट्टसंगको साझेदारीमा १३ लाखको लागतमा स्काई फोल्डिङ ब्रिज बनाए ।

धारामा प्रयोग हुने पाईपलाई जोडेर चौधरीले पुल बनाउदा धेरैले उनको त्यो प्रबिधिलाई मजाकमा उडाए । केहीले मोहनाको बाढीले पुललाई बगाएर लैजाने दावी समेत गरे । कतिपयले केही दिनको रहर त हो भनेर उनको मिहिनेतलाई हाँसोमा उडाए । उनले कुनै प्रतिक्रिया जनाएनन । एक बर्खा कट्यो । पुल जस्ताको त्यस्तै थियो, चौधरी सम्झिन्छन्, त्यसपछि भने मान्छेहरुले कुरा काट्न छाडे ।

तर केही ईस्र्या गर्ने व्यक्तिलाई मोहना नदी पुलमा स्काई फोल्डिङ ब्रिज निर्माण भएको सह्य भएन । निर्माण गरेको केही समयपछि रातिको समयमा कसैले पुलमा आगो लगाई दिए । तर उनी बिचलित भएनन । त्यसपछि भने रातिको समयमा पुलको सुरक्षाका लागि त्यहाँ बस्ने व्यवस्था मिलाए । साथै पुलको दुबै तिर बिजुलीको व्यबस्था समेत गरे ।

धेरैका लागि ठट्टाको विषय बनेको त्यही पुलले तीन वर्षयता थुप्रै बिरामी र गर्भवती महिलाको ज्यान जोगाएको छ । बर्षायाममा मोहना नदीको बाढी घटेपछि अस्पताल पु¥याउने आसैआसमा त्यही किनारमा पर्खिदा पर्खिदै ज्यान गुमाउनका आफन्तहरुका पीडाको समेत अन्त्य भएको छ ।

ठूला गाडीहरु चलाउन नमिल्ने भएपनि अटो रिक्सा, मोटरसाईकल, साईकलले सजिलै ओहोर दोहोर गर्न सक्छन् । 
धनगढीको राजपुर र कृष्णपुरको राजघाटलाई जोड्ने स्काई फोल्डिङ पुल भएकै स्थानमा पहिले बर्षायाममा डुंगा चल्थ्यो । डुंगा चालकले प्रतिव्यक्ति भाडा २५/३० रुपैया लिन्थे । मान्छेको भीड र मोटरसाईकल सहितको भारले डुंगा दुर्घटना हुने जोखिम हुन्थ्यो । जसमा विद्यार्थीहरु समेत आवातजावत गर्थे ।
तर  पुल बनेपछि भने जोखिम घट्नुका साथै आवातजावत अत्यन्त सहज भएको कृष्णपुर नगरपालिका–१० का धन बहादुर महराले बताए ।
दुध बिक्रीका लागि धनगढी ओहोर दोहोर गर्ने किसानहरु ह्न वा कारोवारका लागि धनगढी ओहोर दोहोर गर्ने व्यवसायीहरु । धनगढीका विद्यालयमा पढ्न हरेक दिन नदी तर्ने विद्यार्थीहरु हुन वा उपचारका लागि धनगढी जान खोज्नेहरु बिरामीहरु, महराले भने, सबैलाई यो पुलले सुबिधा भएको छ ।

पुलको निर्माण गर्ने चौधरीले सवारी साधनको शुल्क स्थानीय बासिन्दाले भने बमोजिम लिने गरेको सुनाए । उनले भने, मोटरसाईकल, अटो रिक्सा र साईकल चलाउनेहरुले स्थानीय स्तरमा छलफलपछि तोकेको शुल्क लिने गरेका छौ । उनले अटो रिक्साको दोहोरो भाडा ४५ रुपैया, मोटरसाईकलको २५ र साईकलको १० रुपैया तोकिएको बताए ।

तर विद्यार्थीहरुसंग पनि शुल्क नलिने चौधरीले सुनाए । समुन्द्रमा सफल भएको स्काई फोल्डिङ प्रबिधि मोहना नदीमा असफल हुने कुरै भएन । वर्षायाममा नदीमा बगेर आउने रुखहरुले समेत पुललाई बगाउन सकेन । उनले नदी किनारको संरचना बलियो बनाएको बताए । कहीकतै सिमेण्ट वा ढलान भने गरिएको छैन । नदीमा करीव ११ फिट गहिरो पाईपहरु गाडिएका छन् । तिनै  पाईपमा टिकेको छ, स्काई फोल्डिङ ब्रिज ।

उनी प्राबिधिक  होईनन । न उनले प्राबिधिक विषय नै पढेका हुन् । गरीवीका कारण व्यवस्थापन संकायमा प्रमाण पत्र तहको पढाई पुरा गरेपछि १५ वर्षअघि कामदारका रुपमा ओमान गएका ज्ञान बहादुरले स्काई फोल्डिङ प्रबिधिमा हासिल गरेको बिज्ञता नै उनको परिवारका लागि बरदान भएको छ ।

ओमानको टोको कम्पनीमा सिनियर प्राबिधिकका रुपमा काम गरिरहेका उनले मासिक दुई लाख रुपैया पारिश्रमिक पाउछन् । उनले आफ्ना सात दाजुभाई मध्ये ६ जनालाई स्काई फोल्डिङ प्रबिधिमै पोख्त बनाएका छन् । र यबितेला सबै ओमान र दुबईमा कार्यरत छन्  ।

कोरोनाका कारण बिगत पाँच महिनादेखि घरमा बसिरहेका ज्ञान बहादुरले कोरोना नियन्त्रणमा आएपछि ओमान फर्किने सुनाए । ओमानमा पनि काम छैन । काम नभएकोले कम्पनीले २५ प्रतिशत मात्र तलव दिईरहेको छ, उनले भने, केही सहज अवस्था भएपछि उतै फर्किन्छु ।

उनले धनगढीमा आयोजित धनगढी क्रिकेट लिग र खप्तड गोल्ड कपमा स्काई फोल्डिङ प्रबिधिकै प्रयोग गरी प्याराफिट निर्माण गरेको बताए ।