दुर्घटनामा गम्भीर घाईते क्रिकेटर ललित भण्डारी रेफर, थप उपचारका लागि नेपालगंज लगियो 
 
accidnet

राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारी सवारी दुर्घटनामा परि गम्भीर घाईते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका अनुसार ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाइकल ट्रकसँग जुध्दा दुर्घटना भएको थियो ।

ललितलाई गम्भीर चोट लागेकाले प्राथमिक उपचारपछि धनगढी रिफर गरिएको थियो । धनगढीको निसर्ग हस्पिटलमा पनि उपचारपछि रेफर गरिएको छ । उनलाई थप उपचारका लागि नेपालगंज रेफर गरिएको उपचारमा संग्लन चिकित्सकले बताएका छन् ।

भण्डारीले सन् २०१७ देखि राष्ट्रिय क्रिकेट टोलीमा सहभागी भई क्रिकेट खेल्दै आएका छन् । २०१७ डिसेम्बरको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएईसंग खेल्दै डेब्यु गरेका भण्डारी त्यसपछि नियमित रुपमा टिममा रहेका छन् । नेपालले नेदरल्याण्डसंग अगस्टमा खेलेको एकदिवसीय सिरिज अन्तर्गत टिममा रहेका भण्डारीले नेपाल १ रनले विजयी हुँदै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित हासिल गर्ने क्रममा २ विकेट लिएका थिए ।

नेपाल पुलिस क्लबको लागि नियमित घरेलु क्रिकेट खेल्ने भण्डारीले सन् २०१३ को यु–१९ युथ एसिया कपमा नेपाली अन्डर–१९ टिमको लागि पहिलो पटक खेल्ने मौका पाएका थिए । डेब्युमा पाकिस्तानसंग २ विकेट लिएका उनले त्यस प्रतियोगितामा कुल ३ खेलमा ५ विकेट लिंदै प्रभावित बनाएका थिए ।

ललित पछिल्लो समय चोटका कारण राष्ट्रिय टोलीबाट बाहिर रहेका छन् । नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका उनी फ्रेन्चाइज लिगमा नियमित खेलिरहेका खेलाडी हुन् । उनको घर कञ्चनपुर हो ।