 
सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३६ जनामा संक्रमण पुष्टि भएको हो।
 
 सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा चार सय ९० जनाको कोरोना परीक्षण भएकोमा १२ महिला र १३ पुरुष गरी २५ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीका १५, बझाङका नौँ र कञ्चनपुरका एक जनामा संक्रमण देखिएको हो।
उनले कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ८ जना, वडा नम्वर ४ का एक जना, घोडाघोडी नगरपालिकाका पाँच जना र लम्कीचुहा नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। सूचना अधिकारी श्रेष्ठका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका नौँ जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ।
 
 यस्तै डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय ९० जनाको परीक्षण गरिएकोमा १० जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए।
भुसालका अनुसार डडेल्धुराका एक र बझाङका ९ जनामा संक्रमण पुष्टि भएको हो। डडेल्धुराको अमरगढी नगरपालिकाका एकजना, बझाङको दुर्गाथली गाउँपालिकाका तीन जना, मष्ठा गाउँपालिकाका तीन जना, जयपृथ्वी नगरपालिकाका दुई जना र तल्कोट गाउँपालिकाका एक जना संक्रमित थपिएको प्रयोगशाला ईन्चार्ज भुसालले बताए।
उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा बुधवार एक सय जनाको कोरोना परीक्षण गरिएको छ। प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार बुधवार एक सय जनाको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको छ।
उनका अनुसार अछामको रामारोशन गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो। अछामको रामारोशन, डोटीको खप्तड ब्यारेक, नेपाल टेलिकम डोटी, जिल्ला प्रहरी कार्यालय डोटी र बोगटानबाट संकलन गरिएका एक सय स्वाब बुधवार परीक्षण गरिएको हो।
 यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार ६६ पुगेको छ। संक्रमण पुष्टि भएका झण्डै पाँच हजारले कोरोना जितेको दावी गरिएको छ भने १४ जना संक्रमितको मृत्यु भईसकेको छ।
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
