सुुदुरपश्चिमका १३१९ जना लकडाउनको बेला तेस्रो मुलुकबाट स्वदेश फर्किए 
 
airport

कोभिड–१९ का कारण नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको अवस्थामा सुुदुरपश्चिमका एक हजार तीन सय वढी लकडाउनको बेला तेस्रो मुलुकबाट स्वदेश फर्किएका छन् ।  साउन ३० गतेसम्म स्वदेश फर्किएका ५१ हजार ४ सय ४१ जना मध्ये सुदुरपश्चिम प्रदेशका एक हजार तीन सय १९ जना रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ । यो संख्या कर्णाली प्रदेशपछि पुछारबाट दोस्रो हो । कर्णाली प्रदेशमा सवैभन्दा कम एक हजार एक सय ७७ जना तेस्रो मुलुकबाट घर फर्किएका छन् । 

यो तथ्याङ्क कोभिड–१९ महामारीपछि भारत बाहेक तेस्रो देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएकाको हो । कोरोना भाइरसका कारण भारतबाट फर्कनेको तथ्याङ्क यकिन छैन । सरकारले गएको जेठ २३ गतेदेखि चार्टर्ड उडान मार्फत विदेशमा अलपत्र परेका नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी स्वदेश फर्कन दिने निर्णय गरेको थियो । 

सवैभन्दा बढी १४ हजार २ सय ५७ बाग्मती प्रदेशका घर फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ । त्यसैगरी प्रदेश नम्बर १ का १० हजार ८८३, प्रदेश नम्बर ५ का आठ हजार ५९८, प्रदेश नम्बर २ का आठ हजार ५०६, गण्डकी प्रदेशका छ हजार ७०१ जना स्वदेश फर्केका हुन् । 

लकडाउनको अवधिमा विभिन्न ३० देशबाट नेपाली स्वदेश फर्किएको तथ्याङ्क छ । संयुक्त अरब इमिरेट्स (यूएई) बाट हालसम्म सबैभन्दा बढी १४ हजार ३१४ नागरिक स्वदेश फिरेका छन् । यस्तै साउदी अरेबियाबाट सात हजार ८१७, मलेशियाबाट सात हजार ६४२, कुवेतबाट छ हजार ३२९, कतारबाट छ हजार १९१, बहराइनबाट ९८०, दक्षिण कोरियाबाट ९६७, अष्ट्रेलियाबाट ९४३, ओमानबाट ८११ र माल्दिभ्सबाट ७०९ जना स्वदेश फर्केका सीसीएमसीले जनाएको छ ।