दुर्घटना न्यूनीकरण गर्न चौपायाको घाँटीमा ‘रिफ्लेक्टिभ स्टिकर’ लगाइँदै
 
sadak

चौपायासँग ठोक्किएर दिनहुँ हुने सवारी दुर्घटना न्यूनीकरण गर्न कैलालीमा विशेष अभियान थालिएको छ।  छाडा चौपायाका कारण राजमार्ग क्षेत्रमा दुर्घटना बढेपछि अत्तरियामा रहेको शिवम अटोले चौपायाको घाँटीमा राति टल्कने ( रिफ्लेक्टिभ स्टिकर) लगाउने काम सुरु गरेको हो। 

इलाका प्रहरी कार्यालय मालाखेतीको सहयोगमा अत्तरिया-धनगढी-महेन्द्रनगर सडकखण्डमा रहेका चौपायामा रिफ्लेक्टिभ स्टिकर लगाइएको शिवम् अटोका सञ्चालक कमल ओझाले बताए। उनले दिनहुँ सडक दुर्घटनाका खबर सुनेपछि आफूहरूले दुर्घटना न्यूनीकरणमा सानो भूमिका खेलेको बताए । 

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानबहादुर बिष्टले रातको समय त्यसमाथि वर्षात‍्को मौसममा चौपायाहरू सुक्खा ठाउँ खोज्दै सडकमा आउने र गाडीको लाइटसमेत नजिक पुगेपछि मात्रै देखिने भएका कारण दुर्घटना बढ्दै गएको बताए।  उनले रिफ्लेक्टिभ स्टिकरले सवारी चालकलाई सचेत गराउने बताए।