‘इनफ इज इनफ’ द्धारा मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन,  सुदूरपश्चिम सरकारसँग कोरोना नियन्त्रणको खर्च माग
 
andolan

‘इनफ इज इनफ’ ले सुदूरपश्चिम प्रदेश सरकारसँग कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा भएको खर्चको विवरण मागेको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सूचनाको हक प्रयोग गर्दै कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिदै आएको ‘इनफ इज इनफ’ ले खर्च विवरण मागेको हो ।

कार्यालयमा सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार लिखित निवेदन दर्ता गरी खर्च सम्बन्धीको सूचना माग गरिएको ‘इनफ इज इनफ’का अभियन्ता पुकार बमले जानकारी दिए । उनका अनुसार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारले गरेको खर्चको शिर्षक सहितको विवरण, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको खर्चको विवरण, प्रदेशमा क्वारेन्टिनको संख्या र अवस्था, प्रदेश सरकारले खरिद गरेको स्वास्थ्य सामाग्री तथा उपकरणको विवरण, प्रदेशमा सहेका कोरोना परिक्षण प्रयोगशाला र भेन्टिलेटरको संख्या र तिनको अवस्था सम्बन्धी सूचना माग गरिएको छ ।

यस्तै दैनिक कोरोना परीक्षणको दर, आरडीटी परीक्षण गरिएको संख्या, कन्ट्रयाक ट्रेसिङका लागि प्रदेश सरकारले परिचालन गरेको जनशक्ति र उनीहरुको पारिश्रमिक, भत्ता तथा सुविधाको विवरण र प्रदेशका मुख्यमन्त्री, मन्त्री, सचिव र सल्लाहकारहरुलाई दिइएको पारिश्रमिक, भत्ता तथा सुविधाको समेत विवरण माग पनि गरिएको छ । निवेदन दर्ता गर्नु पूर्व मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी प्रदर्शन गरिएको थियो । ‘इनफ इज इनफ’ का युवाहरुले कोरोना परीक्षणको दर सुस्त भएको भन्दै प्रदेश सरकारको विरोध गरेका हुन ।