थुनुवाको परिवारका १६ जनाको स्वाब संकलन
 
korona

बैतडीको पुर्चौंडी नगरपालिका १० का ३२ वर्षीय कोरोना संक्रमित थुनुवाको घरपरिवार तथा छिमेकी सहित १६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । 

गत सोमबार कोरोना संक्रमण पुष्टि भएका थुनुवा गत मंसिरमै भारतबाट फर्केका र ट्राभल हिस्ट्री नभएका व्यक्ति भएकाले उनका घर परिवारको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

आफ्नै आमामाथि बलात्कारको आरोप लागेका ती युवा गत असार ३१ गते पक्राउ परेका थिए । प्रहरी हिरासतमै रहेका बेला स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । 

थुनुवामा कोरोना देखिएपछि समुदायमा कोरोना फैलिएको आशंकामा सम्पर्कमा रहेका घरपरिवारका सदस्यको स्वाब संकलन गरिएको भट्टले बताए । थुनुवा संक्रमितलाई जिल्ला अस्पातलको आइसोलेसनमा राखिएको छ ।

यसअघि थुनुवाको संम्पर्कमा रहेका २० प्रहरी, ३ जना अन्य थुनुवा, पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एक जना डाक्टर र भारतबाट फर्केका २ जना सहित २६ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोट नेगेटिभ आएको थियो । 

इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरीहरुको कोरोना रिपोट नेगेटिभ आएपछि सेवाग्राहीलाई आवतजावत गर्न दिइएको छ । गत सोमबारदेखि सेवाग्राहीका लागि बन्द गरिएको इलाका प्रहरी कार्यालय प्रहरीहरुको कोरोना रिपोट नेगेटिभ आएपछि खुला गरिएको प्रहरी निरीक्षक धनदेव साउँदले बताए ।