टावरमा ब्याट्री फेर्न जाँदा अस्ताए कार्यालय प्रमुख खड्का
 
ss

बाजुराको जगन्नाथ गाउँपालिका–२, काडाकोटमा भएको जिप दुर्घटनामा ज्यान गुमाएका नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का टेलिकमको जगन्नाथस्थित टावरमा ब्याट्री फेर्न गइरहेको खुलेको छ । 

नेपाल टेलिकम बाजुराका अनुसार टावरमा ब्याट्री फेर्न खड्कासहितको टोली हिमाली गाउँपालिकाबाट जगन्नाथ आएको थियो । जिप दुर्घटनामा खड्कासहित तीन जनाको मृत्यु भएको छ । जिप चालक करनसिंह महतरा र जीपमा सवार बडीमालिका नगरपालिका–७, का रविन्द्र धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर जिपमा सवार बुढीनन्दा नगरपालिका–२, का लोकेन्द्र तिरुवा र नन्दराम तिरुवा घाइते भएका बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । घाइतेहरुको कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार दुर्घटना भएको ठाउँ पुग्न सदरमुकाम मार्तडीबाट जिपमा करिब पाँच घण्टा र कोल्टीबाट करिब तीन घण्टा लाग्छ ।