सुदूरपश्चिममा नेकपा एसलाई मुख्यमन्त्री दिन कांग्रेस तयार
 
dd

दूरपश्चिममा सरकार गठनका विषयमा सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री लिएर सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको छ ।

यसअघि नेकपा एस र कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । गठबन्धनमा मुख्यमन्त्री पाउने गरी नेकपा एसले समर्थन फिर्ता लिएपनि कांग्रेसले फेरि नेकपा एसका संसदीय दलका नेता दीर्घ सोडारीलाई नै मुख्यमन्त्री बनाउने गरी प्रस्ताव गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बेलुका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सुदूरपश्चिमबाट नयाँ सहकार्यको सुरुवात गर्न प्रस्ताव गरेका थिए । देउवा र नेपालबीच गल्फुटारस्थित कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवासमा बुधबार साँझ ६ बजेदेखि करिब एक घण्टा संवाद भएको थियो । भेटमा सुदूरपश्चिम प्रदेशमा सरकार गठनदेखि कोशी र अन्य प्रदेश तथा केन्द्रीय राजनीतिका विषयमा समेत छलफल भएको थियो ।

नेपालसँग छलफलपछि सभापति देउवाले बिहीबार बिहानैदेखि पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् । देउवाले अहिले बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग समेत परामर्श गरेका छन् । सभापति देउवाले प्रदेश सरकारहरुका विषयमा कानूनविद्सँग समेत छलफल गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा वैकल्पिक गठबन्धनबाट सरकार बनाउने प्रयास भएको एक नेताले बताए । ुसुदूरपश्चिम प्रदेशसभामा कांग्रेस ठूलो दल हो । नेकपा एस र नागरिक उन्मुक्तिले साथ दिएको अवस्थामा केन्द्रकोभन्दा फरक गठबन्धनको सरकार बन्ने अवस्था छ,ु ती नेताले भने, ुहामीले नेकपा एसकै नेतृत्वमा सरकार गठन र आगामी सहकार्यका लागि बाटो खुला गरेका मात्रै हौँ ।ु ती नेताका अनुसार छलफल सकारात्मक ढंगले अघि बढेको छ ।

नेकपा एसले प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीकारुपमा अघि बढाउने निर्णय गरिसकेको छ । तर सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले अनिच्छा देखाएका छन् । एमालेको अडानका कारण बिहीबार बिहानसम्म सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेबारे गठबन्धन नै अनिर्णित छ ।

यसअघि पनि गठबन्धनले मुख्यमन्त्री नदिएपछि नेकपा एसले कांग्रेससँग मिलेर सरकार बनाउन तयार भएको थियो । त्यसो त सुदूरपश्चिममा नेकपा एस गठबन्धनबाट बाहिरिए वर्तमान सत्ता गठबन्धनमा संकट पैदा हुने निश्चित छ ।

कांग्रेसले केन्द्रमा समेत सहकार्य गरेर अघि बढ्न यसअघि नै नेकपा एसलाई प्रस्ताव गरिसकेको छ । फागुन २१ गते नयाँ गठबन्धन बनेको भोलिपल्ट माधव नेपाललाई भेट्न देउवा उनकै निवास पुगेका थिए । बिरामी भएर स्वास्थ्यलाभ गरिरहेका नेपालसँग त्यतिबेला कांग्रेसहितको नयाँ समीकरण बनाउन देउवाले आग्रह गरेका थिए।

सुदूरपश्चिममा प्रदेश मियाँले दोश्रोपटक बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदैछ । प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबी खारेज गरी नयाँ सरकार गठनका लागि गरेको आह्वानको समयसीमा पनि आज साँझ सकिँदैछ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ जना छन् । कांग्रेसका १८, एमाले र सभामुखबाहेक माओवादीका १०–१०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसद रहेका छन् । बहुमत पुर्‍याउन कम्तीमा २७ सांसदको आवश्यकता रहेको छ ।