भावी प्रधानन्यायाधीशमाथि न्यायिक विचलनको आरोप, कारबाहीको लागि संसदमा निवेदन
 
ss

गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बेला बाजुराको त्रिवेणी नगरपालिकामा भएको हत्याका आरोपीलाई साधारण तारेखमा छाड्ने सर्वोच्च अदालतका न्यायाधीशलाई कारबाहीको माग गर्दै संसदमा निवेदन परेको छ । मृतकका बुबा गगने अयडीले सभामुखलाई सम्बोधन गरिएको पत्र संसद सचिवालयमा बुझाएका छन् ।

प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएका आरोपीलाई साधारण तारेखमा छाड्न पुस १९ गते आदेश गरेको थियो । उक्त आदेशमा न्यायधीशबाट न्यायिक विचलन भएको तथा कानूनमन्त्री धनराज गुरुङ र सरकारको दबाब देखिएको निवेदकको दाबी छ ।

२०७९ मंसिर ४ गते चेतन अयडीको सुतिरहेको अवस्थामा हत्या भएको थियो । त्यसपछि मृतकका बुबाले प्रहरीले कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । जिल्ला अदालतले पुस ५ गते थुनछेक आदेश गर्दै थुनामा पठाउने निर्णय गरेको थियो । उच्च अदालत दिपायलले २०७९ फागुन ४ र २०८० असार ३ गते जिल्लाको आदेश सदर गरेको थियो । त्यसपछि आरोपीहरू जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च पुगेका थिए । अनुकूल न्यायाधीश नपरेकै कारण आरोपीले सर्वोच्च अदालतमा पटकपटक पेशी स्थगित गरेको निवेदकको दाबी छ ।

निवेदक अयडीले न्यायधीशद्वय राउत र मुसलमानमाथि आवश्यक कारबाहीका लागि संसदीय प्रकृयामार्फत पहल गर्न आग्रह गरेका छन् । कारबाहीको माग गरिएका न्यायाधीश राउत भावी प्रधानन्यायाधीशको लाइनमा छन् ।