सुदूरपश्चिममा ३५२ मतदान स्थल अति संवेदनशील
 
dd

सुदूरपश्चिम प्रदेशमा सुरक्षाको हिसाबले ३५२ मतदानस्थल अति संवेदनशील रहेका छन् ।भौगोलिक अवस्था, सुरक्षा चुनौती लगायतका दृष्टिकोणले सुरक्षा निकायले ३५२ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा वर्गिकृत गरेको हो ।

प्रदेशभरि जम्मा एक हजार १६१ मतदान स्थल छन् । जसमध्ये ४०४ मतदान स्थललाई संवेदनशील सूचीमा राखिएको छ । ४०५ मतदानस्थल भने सामान्य रहेका छन् । ३२ वटा निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा दुई हजार १४६ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये, ७१० अति संवेदनशील, ७७८ संवेदनशील र ६५८ मतदान केन्द्र सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । 

सामान्यभन्दा संवेदनशील मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या बढी रहेको यो प्रदेशमा   संवेदनशीलतानुसार निर्वाचनमा सुरक्षाकर्मी खटाइने जनाइएको छ । तर, सुरक्षाकर्मी के, कसरी र कति सङ्ख्यामा खटाइने, त्यो पछि मिलाइने प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए । 

प्रदेश प्रहरी कार्यालयका अनुसार २३७ मतदान स्थल रहेको कैलालीमा ५३ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । त्यस्तै, १३१ मतदान स्थल संवेदशनील र ५३ मतदान स्थल सामान्य रहेका छन् । यो जिल्लामा ६२९ मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये, १५८ अति संवेदनशील, ३४४ संवेदनशील र १२७ मतदान केन्द्र सामान्य रहेका छन् ।  कैलाली प्रदेशमै सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्ला हो । यो जिल्लामा पाँच वटा निर्वाचन क्षेत्र कायम छ । 

यस्तै, तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कायम भएको १३२ मतदानस्थलमध्ये ६६ वटा अति संवेदनशील, २६ वटा संवेदनशील र ४० वटा मतदानस्थल सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यो जिल्लामा ३४६ वटा मतदान केन्द्र रहेका छन् । जसमध्ये, १८५ अति संवेदनशील, ७३ संवेदनशील र ८८ वटा मतदान केन्द्र सामान्य रहेका छन् । 

भौगोलिक रुपमा विकट बाजुरामा ७० वटा मतदानस्थल कायम गरिएको छ । यो जिल्लामा सामान्य मतदान स्थल जम्मा चार वटामात्रै रहेका छन् । ४३ मतदान स्थल अति संवेदनशील र २३ मतदान स्थल संवेदनशील रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । बाजुरामा १२२ मतदान केन्द्र रहेका छन् । जसमध्ये, ७० मतदान केन्द्र अति संवेदनशील, ३५ संवेदनशील र सात मतदान केन्द्र सामान्य रहेका जनाइएको छ । स्थानीय तहको निर्वाचनमा विवाद भएपछि यो जिल्लाको बुढीगङ्गा नगरपालिकामा दोस्रो पटक मतदान भएको थियो । 

यस्तै, १०१ मतदान स्थल रहेको डडेल्धुरामा २३ मतदान स्थल अति संवेदनशील, ४१ वटा संवेशदनशी र ३७ वटा मतदा नस्थल सामान्य रहेका छन् । यो जिल्लामा १३९ मतदान केन्द्र कायम भएको छ । जसमध्ये, ३९ वटा मतदान स्थल अति संवेशदनशील, ५७ वटा संवेदनशील र ४३ वटा सामान्य रहेका छन् । 

बझाङमा १३५ मतदान स्थलमध्ये ५६ वटा अति संवेदनशील, ५८ संवेदनशील र २१ मतदान स्थल सामान्य रहेका छन् । भौगोलिक विकटतता रहेको यो जिल्लामा १८४ मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये, ८३ मतदान केन्द्र अति संवेदनशील, ७५ वटा संवेदनशील र २६ मतदान केन्द्र सामान्य रहेका छन् । 

११५ मतदान स्थल रहेको डोटीमा नौ वटा अति संवेदनशील, ३० संवेदनशील र ७६ वटा मतदान स्थल सामान्य रहेका छन् । यो जिल्लामा १७७ मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये, ११ वटा अति संवेदनशील, ४८ संवेदनशील र ११८ वटा मतदान केन्द्र सामान्य रहेका छन् । 

यसैगरी, अछाममा १३० मतदान स्थलमध्ये ६० वटा अति संवेदनशील, ५०  वटा संवेदनशील र २० वटा मतदान स्थल सामान्य रहेका छन् । यो जिल्लामा २०८ वटा मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये, ९७ वटा अति संवेदनशील, ८० वटा संवेदनशील र ३१ सामान्य रहेका छन् । भौगोलिक अवस्थानुसार विकट अछाममा पनि अति संवेदनशील र संवेदनशील मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या बढी रहेको छ । 

बैतडीमा १२९ मतदान स्थल रहेको छ । जसमध्ये, ३१ वटा संवेदनशील, ३४ वटा संवेदनशील र ६४ वटा मतदान स्थल सामान्य रहेका छन् । त्यस्तै,  २१० मतदान केन्द्रमध्ये ५४ वटा अति संवेदनशील, ५२ संवेदनशील र १०४ वटा मतदान केन्द्र सामान्य रहेका छन् ।  

यसैगरी, ११२ मतदान स्थल रहेको दार्चुलामा ११ वटा अति संवेदनशील, ११ वटा संवेदनशील र ९० वटा मतदान स्थल सामान्य रहेका छन् । यो जिल्लामा १४१ मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये, १३ वटा अति संवेदनशील, १४ वटा संवेदनशील र ११४ वटा मतदान केन्द्र सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।