नेपाल आमाको मूर्ति निर्माणका लागि ५० लाख सहयोग
 
dhaam

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणका लागि ५० लाख सहयोग प्राप्त भएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मूर्ति निर्माण समितिका अध्यक्ष जनकराज जोशीलाई ५० लाखको चेक हस्तान्तरण गरेका  हुन् । मूर्ति निर्माणका लागि एक करोड रकम उपलब्ध गराउने प्रतिबद्धता अनुसार तत्काल  ५० लाखको चेक हस्तान्तरण गरिएको नगर प्रमुख विष्टले बताए । प्रतिबद्धता अनुसारको बाँकी रकम समेत केही महिनाभित्रै उपलब्ध गराईने उनले बताए ।

मूर्ति निर्माणका लागि लागि भ्याली कन्स्ट्रक्सन प्रालिले १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का लिई निर्माण कार्य शुरु गरेको छ । महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मेची–काली भ्रमण गरी मूर्ति निर्माणका लागि धातु सङ्कलन गरेका छन् । मूर्ति निर्माणका लागि सुन, चाँदी पितल, तामा लगायत धातु सङ्कलन गरिएका छन् । मूर्ति निर्माणका लागि भ्रमणका क्रममा उनले एक करोड, ८४ लाख, ७२ हजार चार रकम सङ्कलन गरेका थिए ।  

मूर्ति निर्माणका लागि २२ देखि ३० टनसम्म धातुको प्रयोग हुने बताईएको छ । तीन वर्षभित्र मूर्ति निर्माणको कार्य पूरा हुने बताइएको छ । अष्टधातुको नेपाल आमाको ७५ फिटको मूर्ति बनेपछि देश विदेशका पर्यटक यसको दर्शनका लागि पुग्ने भएकाले यस क्षेत्रको महिमा बढ्ने भएको छ । तीन रोपनी क्षेत्रको जग्गामा मूर्ति राखिने छ ।