निर्वाचन कार्यालयहरु जुटे निर्वाचनको तयारीमा
 
dd

सुदूरपश्चिम प्रदेशमा निर्वाचन कार्यालयहरु प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेका छन् ।संघीय सरकारले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति तय गरेपछि निर्वाचन कार्यालयहरुले तयारी अगाडि बढाएका हुन । सरकारले आउँदो मङ्सिर ४ गते प्रदेश तथा प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेको छ ।

स्थानीय तहको निर्वाचन सकिएपछि असार १ गतेबाट मतदाता नामावली संकलन तथा अद्यावधिकको कार्य अगाडि बढाइएको थियो । सरकारले आगामी निर्वाचनको मिति तय गरेपछि निर्वाचन कार्यालयले सो कार्यलाई रोकर तयारीमा जुटेका छन् । अब निर्वाचन सामग्री चेकजाँचको साथै आयोगलाई विवरण पठाउने लगायतको तयारीको काम भइरहेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

निर्वाचन कार्यालयहरुले एक महिनासम्म मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य सञ्चालन गर्दा सबै जिल्लामा मतदाता संख्या थपिएको छ ।कैलाली–कञ्चनपुरमा २१ हजार बढी नयाँ मतदाता थपिएका छन् । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मुलुकभर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यबाट कैलालीमा  ११ हजार ४ सय ३० नयाँ मतदाता थपिएका हुन् ।

कञ्चनपुरमा ९ हजार ८ सय २८ गरी २१ हजार २ सय ५८ नयाँ मतदाता थपिएका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य भएको थियो । अब कैलालीमा मतदाताको सङ्ख्या  ५ लाख ३६ हजार ५ सय ५५  पुगेको छ । यस्तै, कञ्चनपुरमा ३ लाख ५१ हजार ८२ मतदाता पुगेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताए ।  

स्थानीय तहको निर्वाचनको बेला कैलालीको धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी ९३ हजार १५१ मतदाता रहेका थिए । यस्तै, गोदावरी नगरपालिकामा ५५ हजार ४९२, लम्कीचुहा नगरपालिकामा ५३ हजार ९४६, टीकापुर नगरपालिकामा ५२ हजार ८६२, घोडाघोडीमा ५२ हजार ४० र गौरीगङ्गा नगरपालिकामा ४० हजार १८ मतदाता सङ्ख्या रहेको थियो । 

यसैगरी, कैलारी गाउँपालिकामा ३६ हजार ७३५, जानकी गाउँपालिकामा ३५ हजार ४०६, भजनी नगरपालिकामा ३३ हजार ९३१, जोशीपुर गाउँपालिकामा २५ हजार ४४६ मतदाता रहेका थिए । यस्तै, बर्दगोरिया गाउँपालिकामा २२ हजार १८१, मोहन्यालमा ११ हजार ९८४ र चुरे गाउँपालिकामा सबैभन्दा कम ११ हजार ९२३ जना मतदाता सङ्ख्या रहेको थियो । 

यस पटक कैलालीमा एउटा मतदानस्थल थपको प्रस्ताव गरिएको छ । टीकापुर नगरपालिकामा एउटा मतदान स्थल थपको प्रस्ताव आयोगमा पठाएको भट्टले बताए । ‘टीकापुरका मतदानस्थलमा बढी भीडभाड हुने गरेको देखिएकाले एउटा मतदान स्थल थपको प्रस्ताव गरेका हौं’, उनले भने । यो जिल्लामा मतदानस्थल सङ्ख्या २३६ रहेको छ । एउटा थप भएमा २३७ पुग्नेछ । जिल्लाभरि मतदान केन्द्र भने ६१९ रहेको छ ।