एनएसीको विमानबाट पक्राउ परेका​ धनगढीका लामिछानेले पञ्जावमा चोरिएको सुन किनेका थिएः प्रहरी
सुन तथा गहना चोरी र बिक्री कार्यमा संलग्न अन्य तीन जना पनि पक्राउ
 
ss

भारतको मुम्बई जाने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका धनगढीका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा जोडिएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो शंकास्पद व्यक्ति चढेको सूचना कैलाली प्रहरीले दिएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीको विशेष ब्यूरोले रोकेर उनलाई पक्राउ गरेको थियो ।

लामिछानेको नाम भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा जोडिएको कैलाली प्रहरीले जानकारी दिएको छ । लामिछानेलाई बिहीबार कैलाली ल्याएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार लामिछानेसँगै भारतबाट सुन तथा गहना चोरी र बिक्री कार्यमा संलग्न अन्य तीन जनालाई पनि पक्राउ गरिएको छ ।


यस्तै, थप विवरण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्षसमेत रहेका लामिछानेलाई बिहीबार कैलाली पुगाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले लामिछानेसँगै भारतबाट सुन चोरी र ओसारपसारको कार्यमा संलग्न रहेको आरोपमा अन्य तीन जनालाई पनि पक्राउ गरिएको जानकारी दिए । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउँदै जोशीले तत्काल विस्तृत विवरण दिन नसकिने बताए ।

यो घटनाको अनुसन्धानमा नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरो र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत खटिएको थियो । प्रहरी स्रोतका अनुसार विगत डेढ महिनादेखि चोरी प्रकरणको अनुसन्धानमा प्रहरी टिम सक्रिय थिए । विशेष अनुसन्धान ब्यूरोको टोली पनि केही समयअघि कैलाली पुगेर फर्किएको थियो । प्रहरीले केही गरगहना र नगदसमेत बरामद गरेको छ । तर, अनुसन्धान प्रभावित हुने भन्दै विवरण सार्वजनिक गर्न अस्वीकार गरेको छ ।

धनगढीका लामिछानेमाथि ठगीको कसुरमा पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो ।