
कैलालीको टीकापुर क्षेत्रमा भारतबाट मलको बोरामा चिनी तस्करी हुने खुलेको छ । नेपाल–भारत सीमा क्षेत्रबाट युरिया मलको बोराभित्र चिनी तस्करी हुने पाइएको हो ।

सशस्त्र प्रहरी र सत्ती भन्सार कार्यालयको राजस्व टोलीले टीकापुर नगरपालिका–७, कालाकुन्टाबाट युरिया मलको बोराभित्र राखेर नेपाल भित्र्याउन लागिएको चिनी बरामद गरेपछि सो खुलासा भएको हो । टोलीले बाहिर ‘युरिया मल’ लेखिएको १५ बोरा चिनी बरामद गरेको छ ।
उक्त टोलीले १५ बोरा चिनीसहित ४० बोरा युरिया, ६ बोरा डीएपी मल, एक हल राँगा, दुईवटा गोरुगाडा बरामद गरेको सशस्त्र प्रहरी बल ३४ नम्बर गणका प्रमुख धनबहादुर सिंहले जानकारी दिए । तस्करीमा संलग्न एक गिरोहले मलको बोराभित्र राखेर चिनी ल्याउने गरेको सूचनाका आधारमा उक्त सामग्री बरामद गरिएको उनले बताए ।
