गोदावरी नगरपालिकाका प्रशासकिय अधिकृत खेमराज विष्ट सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

कैलालीको गोदावरी नगरपालिकामा अनियमितता भएको आरोपमा नगरपालिकाका प्रशासकिय अधिकृत खेमराज विष्टसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गोदावरी नगरपालिकाको प्रशासकिय अधिकृत विष्ट, तत्कालिन प्रशासकिय अधिकृत देवराज जोशी, इञ्जिनियर पूर्ण कुँवर, सवइञ्जिनियर रामचन्द्र भण्डारी, नरेन्द्र शाही, राजेन्द्र भण्डारी, ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी डम्बर चन्दविरुद्ध मुद्दा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको हो । गोदावरी नगरपालिकाको कैलालीमा १३ वटा सडक निर्माणमा अनियमितता भएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

अख्तियारले उनीहरुविरुद्ध ७४ लाख ४१ हजार रुपैयाँ विगो मागदावी गरेको छ ।