 
सुदूरपश्चिमका राजनीतिक दलका नेताहरूले आगामी स्थानीय तहको चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा एमालेका जिल्ला सचिव डेजी पाण्डेय, नेपाली काँग्रेसका प्रदेश सदस्य रामबहादुर देउवा, नेकपा माओवादी केन्द्रका निर्मल शाह, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष भैरव रावलले चुनावमा बालबालिका प्रयोग नगर्ने बताएका हुन ।
 
 सो अवसरमा शिक्षक, विद्यार्थी, पत्रकारले भने चुनावमा बालबालिका, विद्यालय भवन, सवारी साधन प्रयोग नगर्ने कुरा व्यवहारमा लागू हुनेमा आशङ्का व्यक्त गरे । शिक्षा अधिकार अनुगमन समूह, सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको निर्वाचन आचारसंहिता र राजनीतिक दलका घोषणापत्रमा बालबालिका सवालमा सोमबार प्रदेश स्तरीय छलफल तथा सुझाव हस्तान्तरण कार्यक्रम दलका नेताहरूलाई सुझाव पत्र समेत बुझाइएको थियो ।
सो सुझाव पत्रमा राजनीतिक दलले निर्वाचन घोषणापत्रमा समावेश गर्नुपर्ने प्रमुख विषयहरू समेटिएका छन् । पाँच सय भन्दा बढी नागरिक संस्थाहरू तर्फबाट २० वटा संस्थाले २१ बुँदे सुझाव पेश गरेका छन् ।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
