 
धनगढीले क्रिकेटको सहरको उपमा त्यत्तिकै पाएको होइन । यहाँको भूमिमा १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाल र क्रिकेटमा सुनौलो भविष्य खोज्दै गरेका १२ वर्षीय प्रिन्स कुँवर एउटै क्रिजमा, ड्युज बलको सामना गर्दै गरेको दृश्यलाई ७७ वर्षका दर्शकले नियालेको देख्न पाइन्छ ।
 
 भर्खरै सम्पन्न भएको धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगमा हामीले मुम्बईको क्रिकेट हेरेर जीवनको ऊर्जावान् समय बेतित गरेका ७७ वर्षीय दर्शक प्रताप सिंह बडैलालले प्रत्येक खेल नछुटाई कन् हेरेको देख्न पायौँ । लिटल फ्लावर प्रिमियर लिगको छैटौँ संस्करणमा कक्षा ६ मा पढ्दै गरेका १२ वर्षीय प्रिन्स कुँवर र नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाल एउटै टिमबाट सहभागी बने ।
प्रतियोगितामा खनालसहित, उप–कप्तान शेर मल्ल पनि सहभागी बने । साथै अर्जुन साउद, आदिल अन्सारी, सन्तोष कार्की, वसन्त कार्की, वशिर अहमद, प्रकाश जैसीलगायत दर्जन बढी यु–१९ र यु–१६ का दर्जन बढी खेलाडीको सहभागिता रह्यो । यसरी क्रिकेटमा राष्ट्रिय टिमको प्रतिनिधित्व गर्ने खेलाडी र विद्यालय स्तरबाट भविष्य खोज्दै गरेका कलिला ‘कोपिला’ लाई एउटै क्रिजमा खेल्ने अवसर दिएको एलपीएल विद्यालय स्तरको क्रिकेटलाई राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने माध्यम बनेको क्रिकेट प्रेमीहरू बताउँछन् ।
 
 “यस्ता प्रतियोगिता अनुभव आदान–प्रदानको तहमा उमेर समूहका खेलाडीका लागि महत्त्वपूर्ण छन् भने, सिकाइको पहिलो चरणका लागि विद्यालयका खेलाडीका लागि” क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र क्षेत्री भन्छन्, “त्यसैले एलपीएल नेपाली राष्ट्रिय क्रिकेट र त्यसको आधार तह विद्यालय स्तरको क्रिकेटबिचको पुल हो । एलपीएलका विभिन्न संस्करणमा सहभागी बनेका दर्जनौँ खेलाडी अहिले नेपालको प्रतिनिधित्व गर्छन् । जसबाट हामीले के भन्न सक्छौँ भने, एलपीएल जस्ता प्रतियोगिता नेपाली क्रिकेटको वर्तमान मात्रै होइन सुनौलो भविष्य हुन् ।”
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
