कैलालीमा राप्रपा अध्यक्ष लिङ्देनले सयौँलाई पार्टी प्रवेश गराए
 
dd

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिने राजनीतिक दलका आलाकाँचा व्यवहारका कारण इतिहासमा पहिलोपटक वैदेशिक मामिलामा नेपाललाई विवादित बनाउने काम भएको बताएका छन् । 

सोमबार कैलालीको सुक्खडमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आमनागरिकको तहमा समेत बहस भइरहेको एमसिसीजस्तो संवेदनशील परियोजनालाई सत्ता गठबन्धन टिकाउने र भत्काउने विषय बनाएकोमा आपत्ति प्रकट गरेका छन् । 

‘ठूला भनिने दलको गलत कार्यशैलीका कारण आज अन्तर्राष्ट्रिय रुपमा नेपालको विश्वसनीयता कमजोर भएर गएको छ, अध्यक्ष लिङ्देनले भने, ‘यसको क्षति कांग्रेस, एमाले र माओवादी केन्द्रले मात्रै होइन, देशले व्यहोर्नुपर्नेछ ।’ 

अध्यक्ष लिङ्देनले देशको विद्यमान समस्याको समाधान सामान्य टालटुल गरेर नहुने भन्दै प्रणालीमा आमुल सुधार गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले राजनीतिलाई कमाइ खाने माध्यम बनाउनेहरुबाट देशलाई खतरा रहेको र पार्टीहरुले कार्यकर्तालाई उत्पादनसँग जोड्नुपर्ने बताए । 

महामन्त्री डा.धवल शमशेर राणाले देश असफल हुने दिशातिर अघि बढिरहेको र राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको आवश्यकता बढेर गएको बताए ।कार्यक्रममा पार्टीका नेता पूर्वमन्त्री जयन्त चन्द, प्रवक्ता ज्ञानेन्द्र शाही, सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशीलगायत नेताले सम्बोधन गरेका थिए ।

कैलालीको लम्की र सुक्खडमा आयोजित आमसभाका क्रममा विभिन्न पार्टी परित्याग गरी सयौँको संख्यामा राप्रपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् । कैलाली र कञ्चनपुरमा हुने विभिन्न आमसभालाई सम्बोधन गर्न अध्यक्ष लिङ्देन र राप्रपाका शीर्ष नेता सुदूरपश्चिम क्षेत्रमा छन् ।