सुदूरपश्चिम सरकारः विकासमा भन्दा तलब भत्तामा दुई गुणा बढी खर्च
विकासे अड्डामै खर्च न्यून
 
ss

आर्थिक मसान्तमा बजेट खर्चको असारे प्रवृत्ति अन्त्य गर्ने दोहोर्याउँदै आएको सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष पनि अपेक्षित खर्च गर्न सकेको छैन । सरकारले चालु आर्थिक वर्षको छ महिनामा विकासको कामभन्दा बढी तलब भत्तामा रकम सकेको छ ।  छ महिनाको अवधिमा चालु खर्च २०।०९ प्रतिशत हुँदा पुँजीगत खर्च ८।६८ प्रतिशत मात्र छ । पुँजीगततर्फको करिब १८ अर्ब १० करोड ३० लाख बजेटमध्ये छ महिनामा करिब एक अर्ब ५७ करोड २० लाख मात्र खर्च भएको छ ।

चालुतर्फ भने १२ अर्ब ४४ करोड ७३ लाख ९९ हजार बजेटमध्ये करिब २ अर्ब ५० करोड मात्रै खर्च भएको छ ।  प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजितमध्ये छ महिनाको अवधिमा सरकारले १३.३३ प्रतिशत बजेट मात्र खर्च गरेको छ । 

प्रदेशमा विकासे अड्डामै पर्याप्त बजेट खर्च हुन सकेको छैन । सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहत निकायमा छ । यहाँ पनि विकासमा भन्दा बढी तलब भत्तामा बजेट सकिएको छ । भौतिकको ११ अर्ब ८३ करोड ४४ लाखमध्ये एक अर्ब १६ करोड ७१ लाख ९९.८६ प्रतिशत मात्र खर्च भएको छ । उक्त मन्त्रालयले चालुतर्फ भने ३८.२६ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रदेशका सात वटा मन्त्रालयमध्ये तुलनात्मक रूपमा बढी बजेट रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका निकायको खर्च पनि न्यून छ । यो मन्त्रालयले दुई अर्ब ८४ करोड ४७ लाखमध्ये ३४ करोड ३५ लाख बजेट मात्र खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।  यहाँ चालुतर्फ १२।१४ प्रतिशत खर्च भएको छ भने, पुँजीगततर्फ ११.५० प्रतिशत खर्च भएको छ ।

विकासे मन्त्रालयका रूपमा रहेका सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको खर्च तुलनात्मक रूपमा बढी देखिए पनि समग्रमा कम छ । उद्योगले २०।५८ प्रतिशत र सामाजिकले २०.६२ प्रतिशत बजेट खर्च गरेको छ । यी दुई मन्त्रालयको बजेट क्रमशः दुई अर्ब १८ करोड ८९ लाख र छ अर्ब पाँच करोड ५६ लाख छ ।

सामाजिकमा चालुतर्फ २४.६३ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ १२.७९ प्रतिशत खर्च भएको छ । त्यस्तै उद्योग मन्त्रालयमा चालुतर्फ २६.६३ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फ १५.८३ प्रतिशत खर्च भएको छ ।  प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार आर्थिक मामिला मन्त्रालयले छ महिनाको अवधिमा कुल बजेटको साढे १० प्रतिशत, आन्तरिक मामिला तथा कानून मन्त्रालयले १५.२६ प्रतिशत र मुख्यमन्त्री कार्यालयले ४.०८ प्रतिशत खर्च गरेका छन् । यी मन्त्रालयहरूमा पनि चालुभन्दा पुँजीगत खर्च निकै न्यून देखिएको छ ।

सरकारले चालु आर्थिक वर्षको ३० अर्ब ३३ करोडको बजेटमध्ये छ महिनामा चार अर्ब सात करोड खर्च गरेको हो ।   प्रदेशको आर्थिक मामिला मन्त्रालयले पुँजीगत खर्च बढाउन मन्त्रालयका सचिवहरूलाई घच्घच्याउने काम गरिरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता उपसचिव तुलसीप्रसाद भट्टराईले पुँजीगत खर्च निकै न्यून रहेको बताए । ‘प्रगति न्यून छ । बजेट खर्च बढाउनु पर्यो भनेर आर्थिक मामिला मन्त्रालयले अन्य मन्त्रालयलाई घच्घच्याइ रहेको छ’ उनले भने ।   योजनाहरू ठेक्का प्रक्रियामा गइसकेकाले अब खर्च बढ्ने जवाफ मन्त्रालयहरूबाट आउने गरेको भट्टराई ले बताए ।