 
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धीभन्दा पछाडी हटेर गरिएको महाकाली सन्धीमा राष्ट्रघात गरिएको बताएका छन् । यसका लागि कांग्रेस र कम्युनिस्टका नेताहरूले माफी माग्नुपर्ने उनले बताए ।
 
 लिम्पियाधुरा सहितका क्षेत्र समेटिएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले सुगौली सन्धि आफैँमा अपमानजनक भएको बताए । तर काली (महाकाली) नदीलाई सीमा नदी मानेको र पश्चिमको भागमा नेपालले आफ्नो दाबी छोड्ने प्रष्ट देखिएको बताए ।
तर महाकाली सन्धिको प्रस्तावनामा नै ‘महाकाली नदीको अधिकांश भाग दुई मुलुकको सीमा नदी भएको स्वीकार गर्दै’ भन्ने लेखिएको उनले बताए । महाकाली सन्धि गर्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समेत रहेका भन्दै उनले भने जवाफ दिनुप¥यो सुगौली सन्धिभन्दा राष्ट्रिय हितमा पछाडी किन हटेको ?’
 
 
 कालापानी क्षेत्रमा ६० वर्षबाट भारतले विभिन्न संरचना निर्माण गरी सेना राखेको उल्लेख गर्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले सन् १९६५ मा पनि सन्धि भएको कुराहरु बाहिर आएकाले सरकारले जवाफ दिनुपर्ने बताए । समाजवादी पार्टीका अध्यक्ष यादवले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय समेत आफ्नो पार्टीले गरेको समेत बताए ।
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
