निर्मला पन्तका दोषीलाई कानुनी कठघरामा ल्याउन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन

महिला अधिकारकर्मी सावित्री सुवेदीले बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका दोषीलाई छिट्टै कानुनी कठघरामा ल्याउनुपर्ने बताएकी छन् । मंगलबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि मौन प्रर्दशन गर्दै उनले निर्मला घटनामा सरकारले कुनै चासो नदेखाएको आरोप समेत लगाइन् ।

'निर्मलालाई न्याय दे' ,'मेरो शरीर मेरो अधिकार'का प्ले कार्डसहित सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि केही समय मौन प्रर्दशन गरेकी हुन् । निर्मला घटनाको ३ वर्ष पुरा भइसक्दा पनि न्याय नमिलेको र दिनदिनै छोरी चेली बलात्कार हुँदा पनि सरकार चुप बसेका कारण न्यायको माग गर्दै आफू फेरि धनगढी आएको उनले बताइन्। कंचनपुरकी निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । त्यसको भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो ।
