पुल सम्झौताको मिति सकिएपनि अहिलेसम्म पिल्लर समेत बनेन, वर्षामा बयलगाडाको भर
 
aa

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १७ पथरीकी ३५ वर्षिय सीता चौधरी खुल्ला चौरमा गोरु बाख्रा चराउदै साथीहरुसँग गफगाफ गर्दै थिइन । छेउमै रहेको शिवगंगा नदीबाट वारपार गरिरहेका मानिसलाई हेर्दै उनी साथीसंगिनीसँग भन्दै थिइन –‘यहाँ पुल बन्ने भन्छन तर, खै काम कहिले अघि बढ्ने हो ।’

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ र १७ जोड्ने सो नदीमा पुल सम्झौता भएको मिति सकिएपनि अहिलेसम्म पिल्लर समेत निर्माण भएको छैन ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ ढाका टोल बस्ने हरिबहादुर कटुवालको वडा नम्बर ७ देवहरियामा व्यापार व्यवसाय छ । उनले दैनिकजसो घरदेखि पसल र पसलदेखि घरसम्म सोही खोला वारपार गर्नुपर्ने अवस्था छ । पसलबाट घर जाँदै गर्दा सोही खोलामा भेटिएका उनले भने –‘खुट्टामा घाउँ भएपछि मलम पट्टी गरेको छु । खोलाको बहाव पनि बढेको छ । पट्टीमा पानी पसे समस्या हुन्छ ।’

उनले खोलामा पानीको बहाव अत्याधिक बढेका दिन घरदेखि कनरी हुँदै धनगढी बजार आउने गरेको प्रतिक्रिया दिए । उनले भने –‘यहाँ देखि १५ मिनेटमै धनगढी बजार पुगिन्छ तर, वर्षातमा खोलाको बहावले लामो यात्रा गरेर धनगढी पुग्नुपर्छ ।’
उनीजस्तै अरु पनि सो खोलाबाट वारपार गरिरहेका थिए । बजारबाट घरका लागि साइकलमा सामान बोकेकाहरु नदीमा साइकल बोक्दै वारपार गरिरहेका थिए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १७ पथरीकी ४० वर्षिय पार्वति चौधरीले भनिन –‘नजिकैको खुटिया नदीको पुल बनिसक्यो । तर, यो पुलको काम कहिलेदेखि शुरु हुने हो अत्तोपत्तो छैन ।’

वर्षामा बयलगाडाको भर : 

धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का स्थानीय भागिराम र मानबहादुर चौधरीले यात्रु, साईकल तथा मोटरसाइकल पार गराउन बैलगाडा सेवा सञ्चालन गर्ने गरेका छन ।

‘असारदेखि वर्षा शुरु हुँदा नदीको बहाव बढ्छ । पुल छैन । त्यसैले मानिसको आवतजावतमा सहजता ल्याउन बैलगाडाबाट सेवा दिन्छौं’ चालक भागिरामले भने –‘आफनै घरको सामान र पराल बोक्ने बैलगाडा अहिले मानिसलाई नदीमा वारपार गराएर आम्दानीको स्रोत बनेको छ ।’ उनले प्रति मोटरसाईकल वारपार गराएको सय रुपैया लिने गरेको बताए । दैनिक सय बढी मानिस यो नदीबाट पार गर्छन् । उनले दैनिक मोटरसाइकल वारपार गराउ“दा एक हजार दुई सयदेखि चार हजार रुपैयासम्म आम्दानी हुने गरेको बताए । उनले शिवगंगा पार गर्दा रामपुर, घसिटा, बेहडाबाबा मन्दिर पुगिने गरेको बताए ।

अर्का चालक मानबहादुरले भने –‘भारी वर्षा भइ खोलाको बहाव बढेको दिन बैलगाडा चलाउन सकिदैन । त्यसबेला हामी बन्द गर्छौ ।’ उनले वर्षायामको चार महिना नदीमा बैलगाडाले मानिस, मोटरसाइल वारपार गराउने गरेको बताए ।
वडा नम्बर १६ स्थित वेहडाबाबा मन्दिरको दर्शनका लागि धनगढी तथा भारतका विभिन्न स्थानका दर्शनार्थीहरु आउने गरेका छन । वेहडाबाबा धनगढीको मुख्य बजारहुँदै कनरीदेखि पनि जान सकिन्छ । तर, देवहरियादेखि छोटो यात्रा पर्ने भएकाले अधिकाँसले सोही बाटोमा यात्रा गर्न रुचाउँछन । देवहरियादेखि वेहडाबाबा जान खुटिया र शिवगंगा नदी पार गर्नुपर्छ ।

धनगढीका चित्रबहादुर छेडालले पनि बेहडाबाबा जाने क्रममा दुई वटा नदी पार गर्नुपर्ने बाध्यता रहेको बताए । उनले धनगढी उपमहागनरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिरको दर्शनका लागि जादा शिवगंगा नदीमा बैलगाडामा वारपार गर्नुपर्ने अवस्था रहेको बताए । उनी भन्छन– ‘धनगढीबाट कनरी हुँदै जा“दा २० किलोमिटर बढी यात्रा गर्नुपर्छ । यहाँबाट सिधैं जाँदा त्यसको आधाभन्दा पनि कम हुन्छ ।’ उनले शिवगंगामा पुल बनेको भए बेहडाबाबा दर्शनका लागि जाने दर्शनार्थीका लागि सहज हुने बताए ।

पुल बनेपछि खुशियाली : 

धनगढी उपमहानगरपालिका वडा नम्बर १७, धुर्जन्नाका स्थानीय नरेश चौधरी विगतदेखि वैलगाडाबाट नदी वारपार गरेर धनगढी बजार पुग्थे । खुटिया र शिवगंगा नदीले घेरिएको धुर्जन्ना वस्ती वर्षातको समय आउदा स्वास्थ्य लगायतका अन्य सुविधा पाउनबाट वञ्चित हुन्थे ।

सडक डिभिजन कार्यालयले देवहरिया–बेहडाबाबासम्मको सहज पहुँच पुर्याउन २०७४ सालमा दुई वटा पुलको टेण्डर आह्वान गर्यो । त्यसमध्ये थियो खुटिया र शिवगंगा पुल । पटक–पटक म्याद थप्दै आर्थिक वर्ष २०७७/७८ पछि मात्र उनले पुलबाट यात्रा गर्न पाए ।

उनले भने –‘वरिपरी नदीले घेरेको छ । खुटिया नदीमा पुल नहुँदा पूर्व–पश्चिम राजमार्ग हुदै धनगढी जानुपथ्र्यो । नभए खोलामा पैसा तिरेर बैलगाडाबाट पार गर्नुपर्ने हुन्थ्यो ।’ उनले पुल बनेपछि धुर्जन्नाबासीलाई धनगढीबाट सेवा लिनको लागि सहज भएको प्रतिक्रिया दिए ।
१९ दशमलब ७७ वर्गमिटरमा फैलिएको सो वडामा २०६८ को जनगणना अनुसार चार हजार नौ सय ७७ जनसंख्या बसोबास रहेको छ ।

धुर्जन्ना र देवहरियालाई जोड्न सडक डिभिजन कार्यालयले खुटिया नदीमा पुल निर्माण कार्यको थालनी गरेको चार वर्ष पछि सो क्षेत्रका बासिन्दाहरुले पुलमा हिडडुल गर्न पाएको प्रतिक्रिया दिए ।

दुई पुलको सम्झौता, एउटामा मात्र काम : 

सडक डिभिजन कार्यालय, महेन्द्रनगरले २०७४ साल असार २७ गते पुल बनाउन निर्माण कम्पनीसंग सम्झौता गरेको थियो । सम्झौता गरेको निर्माण कम्पनिले एक पुलको मात्र काम सम्पन्न गरेको छ । सडक डिभिजन कार्यालयका अनुसार सो पुल निर्माणको ठेक्का पप्पु एडभेन्चर जोइन्ट भेन्चरले पाएको थियो ।

एक सय ५० मिटर लामो खुटिया पुलको काम २०७७ असारभित्र सक्नु पर्ने भएपनि आर्थिक वर्ष २०७७÷७८ मा सम्पन्न गरेको छ । निर्माण कम्पनीले भ्याटबाहेक १४ करोड २१ लाख २४ हजार दुई सय ६२ रुपैयाँ लागतमा सम्झौता गरेको थियो ।

एक सय २४ मिटर लामो देवरिया–बेहडाबाबा पुलको निर्माण कार्य अहिलेसम्म शुरु गरेको छैन । सो पुलको सम्झौता अवधि २०७७ असार मसान्तसम्म रहेको थियो । १२ करोड ६२ लाख ७२ हजार छ सय ७१ रुपैयाँ लागतमा निर्माण कम्पनीले सो पुल निर्माण गर्ने सम्झौता गरे पनि अहिलेसम्म पिल्लरसमेत हालेको छैन ।