बैतडीमा एकै गाउँका १९ जनाका देखियो कोरोना, गाउँनै सिल
 
corona

बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानी गाउँका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै गाउँका १९ जनामा संक्रमण पुष्टि भएपछि चडेपानीलाई एक हप्ताका लागि सिल गरिएको छ।  सोमबार गाउँपालिकाको विपद व्यस्थापन समितिको बैठकले  उक्त गाउँलाई सिल गर्ने निर्णय गरेको हो।
 संक्रमणको रोकथाम र नियन्त्रणका लागि असार २१ गतेदेखि असार २७ गतेसम्मको लागि सिल गरिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर धामीले जानकारी दिए।  सिल भएको अवधिमा उक्त गाउँमा आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको हो । 

उक्त गाउँका करिब ८० जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।  संक्रमण पुष्टि भएका सबै होम आइसोलेसनमा बसिरहेका गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेन्द्र नाथले  बताए। संक्रमितहरुलाई  संस्थागत आइसोलेसनमा बस्न आग्रह गर्दा नमानेकोले  गाउँमा संक्रमणको झनै जोखिम बढेको छ।   

चडेपानीमा कम्तीमा ५ सय जनाको बसोबास रहेको स्वास्थ्य शाखाले जनाएको छ। सिल गरिएको उक्त अवधिमा उनीहरु सबैको परीक्षण गरिने स्वास्थ्य प्रमुख नाथको भनाई छ।  

दोगडाकेदार गाउँपालिकामा हाल चडेपानीका मात्रै १९ जना सक्रिय संक्रमित रहेका छन्।  जिल्लाभरी सक्रिय संक्रमितको संख्या ८९ रहेको छ। कोरोनाकै कारण बैतडीमा १८ जनाको मृत्यु भइसकेको छ।  

 

No description available.