 
नेकपाको विवाद चुलिदैं गएका वेला सुदूरपश्चिम सरकारका दुई वटा मन्त्रालय मन्त्री विहीन भएका छन् । नेकपामा ओली समुह र प्रचण्ड माधव समुहको विवाद बल्झिदैं जाँदा प्रदेश सकारका दुई वटा मन्त्रालय मन्त्री विहीन बनेका हुन् । एक जना मन्त्रीलाई ओली समुहमा लागेको भन्दै प्रचण्ड माधव समुहको बहुमत रहेको सुदूरपश्चिम प्रदेश सकारका मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका हुन् भने अर्का मन्त्रीले ओली समुहमा खुलेर लाग्दै स्वईच्छाले राजीनामा दिएका हुन् ।
 
 
 भौतिक मन्त्री बर्खास्त, अर्थमन्त्रीद्धारा राजीनामा
प्रदेश सरकारमा बसेर काम गर्ने वातावरण नभएको भन्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बुधबार राजीनामा दिए । यसअघि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले आफैँ पदमुक्त गरेका थिए । दुबै जना ओली समुहका केन्द्रीय सदस्य हुन् । सात सदस्यीय मन्त्री परिषदमा अब दुई मन्त्रालय खाली भएका छन । मुख्यमन्त्री आफैँले बर्खास्त गरेको भौतिक पुर्वाधार विकास मन्त्रालयको जिम्मेवारी उनी आफैँले लिएका छन् । अब प्रदेशको महत्वपूर्ण मानिएको आर्थिक मामिला तथा योजना मन्त्रालय पनि उनकै जिम्मेवारीमा आएको छ । 
‘दृढ ईच्छाशक्ति र यथेष्ट प्रयत्नका बाबजुत जनभावना अनुसार काम गर्न विभिन्न कठिनाई एवम चुनौतीको सामना गर्नु परेकोले प्रदेश सरकारको मन्त्री पदमा बसिरहँदा प्रदेशका जनताको अपमान हुने भएकाले राजिनामा गरेको हुँ ।’ मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका आर्थिक मामिला तथा योजना मन्त्री बोहराले भने । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई भने यस अघि नै पदमुक्त गरेका थिए । मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार मन्त्रीबाट बर्खास्त गरेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता पठानसिंह बोहराले आफ्नै पद धरापमा परेका मुख्यमन्त्रीले दबाबमा परेर हटाएको प्रतिक्रिया दिएका थिए । नेता बोहराले आफूसँग यसबारे कुनै छलफल नभएको बताए ।
 
 
 दुबै मन्त्रीको ठोकुवा–‘प्रदेश सरकारमा उत्कृष्ट काम गरेका छौं’
आर्थिक मामिलात तथा योजना मन्त्री मन्त्री बोहराले राजीनामा दिदैं गर्दा तीन वर्षको कार्यकालमा आफुले गरेका कार्यको फेहरिस्त समेत प्रस्तुत गरे । संसद विघटनपछि, ओली समूहमा देखिएका मन्त्री बोहराले प्रदेशमा लगानी मैत्री वातावरण बनाएको, प्रदेशको तीन वटा बजेटहरु जनताको आवश्यकता अनुसार विनियोजन गरेको, स्वरोजगार कार्यक्रम स्थापना गरेको जस्ता, राजश्व संकलन लक्ष्यभन्दा बढी गरेको भन्दै उनले त्यसका बाबजुत पनि काम गर्ने वातावरण नरहेको स्पष्ट पारेका थिए ।
बर्खास्त गरिएका भौतिक पुर्वाधार तथा योजना मन्त्री पठान सिंह बोहराले भने केही दिन अघि धनगढीमा गरिएको पत्रकार सम्मेलनमा आफुले उत्कृष्ट काम गरेको दावी गरेका थिए । उनले भने– ‘प्रदेश सरकारको नाकै बचाउने काम मैले गरेको हो । व्यवस्थित ढंगले योजना र काम अगाडी बढाएको हो । मसँग एक आँखर पनि कुरा भएको छैन । फोन गर्दा पनि केही भन्नुभएन । म त मूल पार्टीको नेतृत्वको पक्षमा हो, प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको, यत्ति कुरा भएको हो । संवैधानिक प्रावधानका आधारमा हटाएको भनिएको छ, के प्रावधान हो, त्यो बुझ्न सकेन मैले ।’
मन्त्रीबाट हटाएपछि अब आफ्नो पक्षले समेत सल्लाह गरेर अगाडी बढ्ने मन्त्री बोहराले बताए । ‘हामी सल्लाह गर्छाैं हामी, उहाँले दबाबमा परेर गर्नुभयो भन्ने सुन्छु । दबाबमा परेर कति दिन काम गर्न सक्ने हो उहाँले ?’ उनले भने, ‘प्रदेश सभामा के, कति, कता संख्या भन्ने हिसाबमा उहाँ पनि धरापमै हुनुहुन्छ भनेर बुझ्छु म ।’
 एउटालाई बर्खास्त अर्कोलाई प्रलोभन
दुबै जना मन्त्री प्रदेश सरकारमा राम्रो छवि भएका मन्त्री हुन् भने दुबैको मन्त्रालयको काम पनि राम्रो थियो । मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड नेपाल समूहमा लागेपछि उनले ओली समूहका मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका थिए । तर आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई भने मुख्यमन्त्रीले चलाएका थिएनन् । आर्थिक मामिला मन्त्री झपट बोहरालाई प्रचण्ड नेपाल समूहमा ल्याउन नेता भीम रावलले कसरत गरिरहेकाले उनलाई भौतिक पुर्वाधार मन्त्री पठानसिह बोहरासँग नहटाइएको बताइएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्ट साविकको माओवादी केन्द्रका हुन् भने पठान सिंह बोहरा साविकको एमालेका हुन् । आर्थिक मामिला तथा योजना मन्त्री पनि साविकको माओवादी केन्द्रबाट भएकाले मुख्यमन्त्रीले राजीनामा कुरेको स्रोतले बतायो । तर संगठनमा मन नपरेका व्यक्ति प्रति आक्रामक देखिने भीम रावलले पनि आर्थिक मामिला तथा योजना मन्त्रीलाई बर्खास्त नगर्न भनेको स्रोतले बतायो । बोहराको निर्वाचन क्षेत्र अछाम हो । नेता भीम रावल पनि अछामबाट चुनाव जितेका थिए । झपट बोहरालाई अपमानित गरी बर्खास्त गरेमा अछामको आफ्नो चुनाव क्षेत्र बिग्रने डरले पनि मन्त्री बोहरालाई नचलाईएको स्रोतले बतायो । यस अघि पनि नेता रावलले बोहरालाई अर्का अर्कै समूहमा लागे दुवै हार्ने भनि एकै गुटमा लाग्न आग्रह गरेका थिए तर बोहराले त्यो कुरा स्वीकार गरेनन् ।
 मुख्यमन्त्रीलाई मन्त्री बनाउन सकस
दुई जना मन्त्रीको पद खाली भएसँगै मुख्यमन्त्री त्रिलोचन भट्टलाई मन्त्री बनाउन सकस परेको छ । भौतिक पुर्वाधार मन्त्रालय आफुसँग राखेका उनले आर्थिक मामिला तथा योजना मन्त्रालय पनि खाली भएकाले अब मन्त्री राख्नैपर्ने हुन्छ । अहिले मन्त्रीका लागि चाररपाँच जना आकांक्षी देखिएका छन् । दार्चुलाबाट निर्वाचित मानबहादुर धामी हुन नसकेका मुख्यमन्त्री हुन् । तर उनका बारेमा संसदीय दलमा सहमति हुन सकेन । तर अहिले उनलाई मन्त्री पनि नबनाई उनी सहितका नेताहरु रुष्ट भएर अर्को समूहमा जाने खतरा रहेको स्रोतले बतायो ।
यस्तै नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ पनि पटक पटक मन्त्रीका आकांक्षी देखिएका छन् । कञ्चनपुरबाट चुनाव जितेका उनलाई मन्त्री नबनाए, अर्को विद्रोह हुने अनुमान प्रचण्ड नेपाल समूहले जनाएको छ । कारबाही फुकुवा गरिएका प्रदेश सभा सदस्य दीर्घ सोडारी पनि आफ्नो मन्त्री पदको पुर्नवहाली र जिल्ला अध्यक्षको सपथ हुनुपर्ने भन्दै लागेका छन् । डोटीबाट प्रदेश सभा सदस्य पूर्णा जोशी मुख्यमन्त्रीकै दाबेदार रहेका वीरमान चौधरी धेरै जना मन्त्रीका आकांक्षी हुन् ।
 अहिलेको अंकगणित अनुसार ५३ जनाको प्रदेश सभामा ३९ जना नेकपा, १२ जना कांग्रेस र २ जना राजपा छन् । नेकपाका ३९ जनामध्ये दाबी बढी गरिए पनि ओली पक्षमा ७ जना मात्रै खुलेका छन् । प्रचण्ड नेपाल पक्षमा ३० जनाको बहुमत रहेको त्यो पक्षको दाबी छ । तर केही प्रदेश सभा सदस्यहरु भने अझै खुली सकेका छैनन् ।
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
