सुदूरपश्चिममा क्वारेन्टाईन थप्दा पनि थेग्न धौ धौ, सम्बद्धहरु भन्छन्–‘१४ दिन राखेर लक्षण नदेखिएकालाई होम क्वारेन्टाइनमा पठाउनुको विकल्प छैन’
 
korona

सुदूरपश्चिम प्रदेशमा भारतबाट आउनेको संख्या बढ्दै गएपछि स्थानीय तहका क्वारेन्टाइन भरिँदै गएका छन् । पालिकाहरूले क्वारेन्टाइनको संख्या र क्षमता बढाउँदा पनि ठाउँ अपुग भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार १ सय १ क्वारेन्टाईन स्थल थपिएका छन् । तिनमा ४ हजार ९ सय ८८ बेड छन् । ३३ हजार भन्दा बढी जना क्वारेन्टाइनमा छन् । निर्देशनालयका अनुसार बाजुरामा क्वारेन्टाइनस्थल ७४ बाट बढाएर ९२ वटा पुयाइएको छ । अब त्यहाँ १ हजार ७ बेड पुगेका छन् । यस अघिका ८ सय ५१ बेड अपुग भएपछि तुरुन्तै स्कुललाई क्वारेन्टाइन बनाइएको हो । बाजुरामा क्वारेन्टाइनमा बस्नेको संख्या १ हजार ७५ पुगेको छ ।

बझाङमा पनि १४ वटा क्वारेन्टाइन थपिएका छन् । जिल्लाभरिमा गरी १ हजार ३ सय ७७ बेड छन् । तर शुक्रबारसम्म यहाँ १ हजार ५ सय जना पुगिसके । डोटीमा ३ हजार ७ सय ६६ जना क्वारेन्टाइनमा छन् । अछाम, बैतडी, डडेल्धुरा र दार्चुलाका क्वारेन्टाइन पनि भरिँदै गएका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार दार्चुलामा ९ सय २० बेड रहेकामा अहिले ८ सय ६ जना पुगिसकेका छन् । अछाममा १२ क्वारेन्टाइन थपिएका छन । भारतबाट आउनेलाई ध्यानमा राखेर १ सय १५ वटा क्वारेन्टाइनमा ३ हजार २ सय १५ बेडको व्यवस्था गरिएको छ । त्यहाँ अहिले १ हजार ६ सय २६ जना क्वारेन्टाइनमा छन् । बैतडीमा १० वटा क्वारेन्टाइन थपिएका छन् । त्यहाँका ४ हजार ७ सय ४१ बेडमध्ये अब ४ सयजति मात्र भरिन बाँकी छन् । त्यस्तै डडेल्धुराका ४ हजार १ सय ९७ बेडमध्ये २ हजार ६ सय ५ वटा भरिइसके । कैलालीमा १० हजार जनालाई क्वारेन्टाइनमा राख्न सकिने व्यवस्था मिलाइएको छ । तर बिहीबारै ७ हजार जनाजति पुगिसके । यो संख्या अझै बढ्ने देखिन्छ । कञ्चनपुरमा ४ हजार ९ सय ५ वटा बेड भरिएपछि ४७ वटा थप गरिएका छन् ।

सुदूरपश्चिमका नाकामा अझै भारतबाट आउनेको ओइरो रोकिएको छैन । पछिल्ला दुई सातामा कैलालीको गौरीफन्टाबाट मात्रै ३३ हजारभन्दा बढी भित्रिएका छन । जसमध्ये ८० प्रतिशत सुदूरपश्चिम र बाँकी अन्य प्रदेशका छन् । कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुला नाकाबाट समेत भित्रिएका छन् । उनीहरू सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई गाहे भइसकेको क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । ‘स्थानीय तहलाई क्वारेन्टाईनको व्यवस्थापन चुनौती भइसकेको छ,’ उनले भने, ‘स्थानीय तहले आरडीटी जाँच बढाएर क्वारेन्टाइन बस्नेको संख्यामा कमी ल्याउनुपर्यो भन्छन् । यसो गर्न पनि किट र जनशक्ती अभावले सम्भव छैन ।’ उनले १४ दिन क्वारेन्टाइनमा राखेर लक्षण नदेखिएकालाई एक साता होम क्वारेन्टाइनमा बस्ने गरी पठाउनुको विकल्प नभएको बताए । स्कुल र खाली रहेका सबै भवन क्वारेन्टाइनमा बदल्दा पनि अपुग भइरहेको अवस्थीले बताए ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार चार दिनयता गौरीफन्टा नाकाबाट दिनहुँ ४ हजारभन्दा बढी आइरहेका छन् । यो क्रम अझै कम्तीमा एक साता थामिँदैन । भारतका विभिन्न सहरबाट सिधै बस बुकिङ गरेर नेपालीहरू सीमा नाकामा पुग्ने गरेका छन् । दिल्लीबाट घर फर्केका बाजुराका रामबहादुर सेरलाले बस बुकिङ गर्न नपाएकाले अझै थुप्रै नेपाली उतै रहेको बताए । उनका अनुसार दिल्लीबाट मात्रै अझै ५० प्रतिशत आउन बाँकी छन् । ‘अहिले आएका ३० देखि ४० प्रतिशत मात्रै हुन,’ उनले भने, ‘रोजगारी गुमेपछि फर्कनु बाध्यता भयो ।’ सीमा नाकामा पुगेका नेपालीलाई सम्बन्धित जिल्ला र स्थानीय तहले बस पठाएर लैजाने गरेका छन् । यसरी लैजाँदा उनीहरूको सामान्य स्वास्थ्य जाँच समेत गरिएको छैन ।