आफ्नो पक्षमा नेता कार्यकर्ता तान्न मन्त्रीहरू किनियो–भीम रावल
 
bhim rawal

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रचण्ड–माधव पक्षका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सुदूरपश्चिममा आफ्नो पक्षमा नेता कार्यकर्ता तान्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू किनेको आरोप लगाएका छन् ।  ‘सुदूरपश्चिममा चार वटा मन्त्री दिएर प्रचार गरेका छन्’, प्रदेश स्तरीय बैठकमा बोल्दै उनले भने, ‘मन्त्रालय दिएको होइन । किनेका हुन् ।’

यसअघि नेकपा दुई वटा समूह नहुँदा प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमलाई एक मन्त्रालय दिन पनि कति मिहिनेत गर्नु परेको थियो त्यो कुरा ताजै रहेको उनले बताए ।  ‘यदि केपी शर्मा ओलीले साँच्चिकै सुदूरपश्चिमको विकास चाहेका भए । प्रतिनिधि सभामा डडेल्धुरा, कैलाली निर्वाचन क्षेत्र १ बाहेक सबै र प्रदेश सभामा दुई तिहाइ ल्याउँदा पनि एक मन्त्री दिन कति कञ्जुस्याइँ गरे त्यो सबैलाई थाहै छ ।’ यी सबै कारणले गर्दा केपी ओलीको सुदूरपश्चिम हेर्ने धारणा स्पष्ट भएको उनले दाबी गरे ।

नेता रावलले सांसद नभएका व्यक्तिहरूलाई मन्त्रिपरिषद्मा ल्याएर ओलीले हास्यास्पद काम गरेको बताए । नेता रावलले सुदूरपश्चिम प्रदेश समितिको बैंक खातामा रहेको रकम झिकेको स्वीकार गरे ।