नवनियुक्त वनमन्त्रीलाई भीम रावलको टिप्पणीः ‘चोरलाई साँचो दिईयो’ (भिडियो सहित) 
 
bheem rawal

नेकपा (माधव–प्रचण्ड) समुहका स्थायी कमिटि सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका नयाँ मन्त्रीहरुलाई चोरलाई साँचो दिईएको कटाक्ष गरेका छन् । धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै रावलले काठ तस्करीमा मुछिएका सासंद प्रेम आलेलाई वनमन्त्री बनाएको बिषयलाई  र्इंगित गर्दै चोरको हातमा साँचो दिईएको टिप्पणी गरेका हुन् ।

उनले वर्तमान सरकारले कतिपय व्यक्तीलाई चोरलाई साँचो दिए जस्तो मन्त्री पद दिएको टिप्पणी गरे ।  डाक्टर भीम रावलले कर्तव्यच्युत भएकाहरु पनि गुलियो चाट्नका लागि मन्त्री भएका बताए । विरोध सभामा बोल्दै उनले भने–‘प्रतिनिधि सभा सदस्य समेत नरहेका कतिपय व्यक्तीहरु गुलियो चाट्न लज्जापूर्वक मन्त्री भएका हुन ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई कुल्चिएको उनले बताए । प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नभएको बताए । ‘पदबाट राजिनामा दिनुपर्ने अवस्थामा उल्टै मन्त्रीमण्डलको विस्तार गरे, प्रतिनिधि सभा सदस्य नभएका मान्छेलाई समेत मन्त्री बनाएर लोकतन्त्रको धज्जी उडाउने काम गरे ।’ उनले विरोध सभामा भने । 

नेता रावलले वर्तमान सरकारले देशभक्तिको ठूलठूला कुरा बोल्ने गरे पनि व्यवहारमा भने कमजोर रहेको टिप्पणी गरे । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा पनि प्रधानमन्त्रीले बाध्य भएर प्रकाशित गरेको उनले बताए । ‘नक्सा किन चाहियो ? नक्सामा चुच्चे भूमि राख्नै पर्छ र ? भनेर उहाँले प्रश्न गर्नुहुन्थ्यो ।’ रावलले भने–‘हामीले सदन र देशभक्त जनताले सडकबाट दबाब दिएपछि मात्रै उहाँले बाध्य भएर नक्सा प्रकाशित गर्नु भएको हो ।’