लक्ष्मण थारु भन्छन्– ‘उच्च अदालतको फैसला मान्दैनौं, दासत्वको लडाँई छाड्दैनौं’ (भिडियो सहित)
 
laxman tharu

टीकापुर घटनामा जन्मकैद सुनाईएका थारु नेता लक्ष्मण थारुले उच्च अदालत दिपायलको फैसला पुर्वाग्रही भएकोले कुनै पनि हालतमा नस्वीकार्ने बताएका छन् । उनले केही सञ्चारकर्मीहरुलाई गोप्य स्थलबाट भिडियो अन्तर्वार्ता दिदैं पुर्वग्राही, नश्लेयितले भरिएको फैसलालाई कुनै पनि हालतमा मान्न तयार नरहेको बताएका हुन् ।   

थरुहट नेता थारुले दासत्वको विरुद्धमा विद्रोह गर्न आवश्यक रहेको बताए । उनले उच्च अदालतको फैसला पछि पहिलो पटक सञ्चार माध्यममा यस्तो अभिव्यक्ति दिएका हुन् ।  टीकापुर घटना सम्बन्धी मुद्दामा उच्च अदालत दिपायलले पुस २ गते सुनुवाई गर्दै जन्मकैद फैसला सुनाईएका थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय संयोजक थारु लुकेर बस्दै आएका छन् ।

उनी प्रहरीको खोजीमा परेपछि लुक्दै आईरहेका हुन् । तर मुद्दाका प्रतिवादी रहेका थारुले अदालतको फैसलापछि अदालत उपस्थित नहुने प्रतिक्रिया दिएका छन् । उनले भने,– ‘म डराएको छैन । भागेको छैन । मलाई गम्भीर बनाएको छ अदालतको फैसलाले । फैसला नश्लीयतपूर्ण छ । राजनीतिक चलखेल भयो, जुन दुर्भाग्यपूर्ण छ । हामी कुनै पनि हालतमा यो फैसला मान्न तयार छैनौ । हामी आत्मसमर्पण गर्दैनौ ।’

भिडियो कुराकानीमा उनले भने– ‘हामी कुनै पनि हालतमा दासत्व स्वीकार गर्दैनौं । उच्च अदालतको फैसला सरासर गलत छ । पुर्वग्राही, नश्लेयित भरिएको फैसलालाई हामी मान्न तयार छैनौ ।’   उनले भिडियो अन्तर्वार्तामा भनेका छन्– ‘हामी दासत्वको विरुद्ध लडिरहेका छौ ।’ अवको विद्रोह शान्तिपूर्ण र हतियार रहित राष्ट्रिय मुक्तीको अभियान रहनेछ । हामी त्यसको तयारी पनि गरिरहेका छौं । सबै साथीहरुसँग छलफल गर्नका लागि देशका विभिन्न स्थानहरुमा गईरहेको छु ।’ 

भिडियो सौजन्यः उन्नति चौधरी