अर्थमन्त्री बोहराले विवादित क्षेत्र भनेपछि प्रतिपक्षी दलद्धारा  सुदूरपश्चिम प्रदेश सभा अवरुद्ध, संसदमा माफी माग्नुपर्ने अडान
 
sansad

सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले विवादित क्षेत्र भनेपछि संससद अवरुद्ध भएको छ । अर्थमन्त्री बोहराले संसदमा माफी माग्नुपर्ने अडान सहित दुई प्रतिपक्षी दलले संसद अवरुद्ध गराएका हुन् । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादीको अवरोधका कारण सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक अवरुद्ध भएको हो । प्रदेश सभाको मंगलवारदेखि सुुरू भएको छैठौं अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷२०७८ को विनियोजन विधेयक प्रस्तुत गर्ने क्रममा दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई विवादित क्षेत्र भनेर अभिव्यक्ती दिएको विषयलाई लिएर दुई प्रतिपक्ष दलले प्रदेश सभा बैठक अवरोध गरेका हुन ।

बुधबार बसेको प्रदेश सभा बैठक सुरु भए लगत्तै मन्त्रीले माफी माग्नुपर्ने माग सहित प्रतिपक्षी दलहरुले प्रदेश सभाको बैठक अवरोध गरेका हुन । संघीय सरकारले अद्यावधिक गरिसकेको र सम्पूर्ण राष्ट्र त्यसको समर्थनमा रहेका बेला अविभाज्य भू–भागलाई विवादित भनेकोमा अर्थमन्त्री बोहराले सदनमा माफी माग्नुपर्ने प्रतिपक्षी दलहरुको माग छ । प्रतिपक्षी दलको अवरोधपछि सभामुख अर्जुन बहादुर थापाले प्रदेश सभाको बैठक बिहीबरसम्मका लागि स्थगित गरेका छन ।