महाकालीको पानी गाउँमा पुगेपछि स्थानीय खुसी
 
Pani

पहिलो पटक महाकाली नदीबाट पानी लिफ्ट सिंचाइ प्रविधिबाट बैतडीको दशरथचन्द नगरपालिका १० तिरखडेनी गाउँमा पुगेपछि स्थानीय खुसी भएका छन्। गाउँमा पानी पुगेपछि बाँझो खेतमा स्थानीयले लटरम्म तरकारी फलाएका छन् ।

 

annapurna post

 

दशरथचन्द नगरपालिका–१०, तिरखडेनी गाउँको बाँझो खेतमा सिंचाइ गर्न बिजुलीबाट १० हर्स पावरको मोटर चलाएर तिरखडेनी गाउँमा पानी पुगेको हो । चार इन्च मोटो पोलेथिन पाइपमा महाकाली नदीको पानी गाउँमा पुगेपछि स्थानीयबासी खुसी भएका छन् ।
 
दशरथचन्द नगरपालिका र स्थानीय सामाजिक संस्था रुडेस बैतडीले सञ्चालन गरेको ट्रोसा कार्यक्रमको साझेदारीमा १५ लाख ८५ हजारको लागतमा महाकालीबाट पानी तानेर सिंचाइ योजना बनेको हो ।

गाउँमा पानी पुगेपछि आफूलाई निकै खुसी लागेको स्थानीय ७३ वर्षीय मानबहादुर चन्दले बताए । उनले भने, 'पारीपट्टी भारतमा हरियाली खेत हुँदा हाम्रो यता सिंचाइको अभाव जमीन बाँझै रहन्थ्यो । अहिले सिंचाइ योजना बनेपछि धेरै खुसी लागेको छ ।'

गाउँमा मोटरबाट महाकालीको पानी तानेर सिंचाइ हुन थालेपछि आफूहरुले बारीमा तरकारी फलाउन थालेका स्थानीय शान्ति बुडालले बताइन् । उनले भनिन् 'हाम्रो गाउँ तलतिर कलकल महाकाली बगिरहन्थ्यो । त्यो पानी गाउँमा ल्याउन पाए हाम्रो पनि जिविकोपार्जनमा सहयोग पुग्थ्यो भनेर सोच्थ्यौं । अहिले हाम्रो सपना साकार भएको छ । यसले हामी धेरै खुसी भएका छौं ।'

महाकालीबाट पानी तानेर बैतडीमै पहिलो पटक दशरथचन्द नगरपालिकामा सिंचाइ योजना बनेकोमा निकै खुसी लागेको उपप्रमुख मीना चन्दले बताइन् । उनले भनिन् ,' महाकालीबाट लिफ्ट सिंचाइ प्रणाली अन्तर्गत पानी तानेर सिंचाई योजना बनेको नगरपालिकामा यो पहिलो योजना हो । यसले हामी जनप्रतिनिधिहरु पनि खुसी भएका छौं ।'

महाकाली नदीबाट पहिलोबाट पानी तानेर सिँचाई योजना निर्माण गर्न दशरथचन्द नगरपालिका र रुडेस बैतडीको साझेदारी रहेको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । उनले भने, 'हामीले तटीय क्षेत्रका नागरिकका समस्याका बारेमा पैरवी गर्ने र उनीहरुका समस्या समाधानका लागि स्थानीय सरकारसँग मिलेर काम गरिरहेका छौं । वर्षौंदेखि सिंचाइको अभावमा बाँझो  रहेको खेतमा सिंचाइ हुन थालेको छ । अहिले स्थानीबासीहरु पनि निकै खुसी भएका छन् ।'

७५ मिटर भर्टिकल हाइट र १३ सय मिटर  लम्बाई रहेको सिंचाइ योजनाले तिरखडेनी गाउँको १८ सय रोपनी खेतमा सिंचाइ पुगेको रुडेस बैतडीका कार्यक्रम अधिकृत तेजराम लोहारले बताए । 

किसानलाई थप हौसला दिन दशरथचन्द नगरपालिकाले पनि सक्दो सहयोग गर्ने दशरथचन्द नगरपालिकाका उप प्रमुख मीना चन्दले प्रतिबद्धता जनाइन् । उनले भनिन्, 'गाउँमा सिंचाइ योजना पुगेको छ । किसानले व्यवसायिक तरकारी खेती सुरु गर्ने जमर्को गरेका छन् । यसमा नगरपालिकाका तर्फबाट हुने सहयोग हुन्छ ।'