आफ्नै पार्टीको सरकार बारे नेकपाका प्रमुख सचेतक तामाङको कटाक्षः ‘प्रदेश सरकारबारे सोच्ने बेला आयो’ 
 
tamang

सुदूरपश्चिम प्रदेश सभाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सरकारबारे सोच्ने बेला आएको बताएका छन । प्रदेश सभाको आजदेखि शुरू भएको छैठौं अधिवेशनको पहिलो बैठकको विशेष समयमा बोल्दै उनले प्रदेश सरकारले काम गर्न नसकेको भन्दै सरकारबारे समीक्षा गर्ने बेला आएको बताएका हुन ।

हालको कारोना महामारीबाट जनतालाई जोगाउनेदेखि लिएर विकास निर्माणको काममा प्रदेश सरकारको प्रगति निकै कमजोर रहेको बताउँदै उनले सरकार बेलैमा सच्चिनुपर्ने बताए । ‘सरकारले ढिलासुस्ती गरेको अनुभूति भएकै हो । सरकारभन्दा जनता अगाडी रहेका छन् । सरकार भएको अनुभूति भएकै छैन,’ उनले भने, ‘सरकारको प्रगति पनि कमजोर छ । संसद विकासको योजनालाई बेवारिसे बनाउने काम सरकारकै मन्त्रालय र कर्मचारीबाट भइरहेको छ । यसतर्फ सरकारको ध्यान जानैपर्छ ।’

सरकार सच्चिएन भने सरकारबारे सोच्नुपर्ने बताउँदै उनले आक्रोस पोखे, ‘यो सभाले सरकार बनायो कि प्रदेश सरकारले सभा बनायो ? अब सोच्ने बेला भएको छ । संसद विकासको ५० प्रतिशत योजनाको सम्झौता भएको छैन । हामीलाई नजर अन्दाज गरेको सरकारबारे समीक्षा गर्ने बेला आएको छ ।’ सुदूरपश्चिम प्रदेशमा नेकपाकै सरकार रहेको छ ।